झापा / दाङको तुलसीपुरमा फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ नामक कम्पनीका जिल्ला संयोजक सुरेश घले र केन्द्रीय कार्यालयका प्रबन्धक युवराज उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ । 

कम्पनीका नाममा सर्वसाधारणबाट  लाखौं रकम उठाएर ठगी गरेको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु आर्यालले बताएका छन । 

OM Sai Pathibhara Hospital


तुलसीपुर उपमहानगरपालिका वडा नं ६ डुम्रीगाउँमा कार्यालय खोलेर घले र उपाध्यायले सर्वसाधारणबाट ठगी गरेको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरेको डीएसपी अर्यालले जानकारी दिए । 

केही समय पहिले तुलसीपुर ९ बेलुवा की ४० वर्षीया अनिता वली महतरा सहित ४८ जना उक्त कम्पनीका कर्मचारीहरूले संयुक्त रूपमा इप्रका तुलसीपुरमा ठगी मुद्दामा जाहेरी दिएका थिए ।  

ती कर्मचारीहरूले घले, उपाध्याय र सुमन भनिने मानबहादुर देउवाविरुद्ध किटानी जाहेरी दिएका थिए । 


फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ कम्पनीले तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकालाई कार्यक्षेत्र बनाएर कार्य गर्दै आएको थियो । 

कम्पनीले ती स्थानका सर्वसाधारण कृषकको उन्नतिका लागि भन्दै  किसानलाई सदस्य बनाउने बहानामा प्रतिकिसान ५ सय रुपैयाँका दरले रकम संकलन गरेको थियो । 

जसका लागि विभिन्न कर्मचारी नियुक्त गरी उनीहरूमार्फत समूह बनाएर रकम संकलन गर्नुका साथै बीमा बनाउने भनेर रकम समेत संकलन गर्न लगाएको ४८ कर्मचारीले दिएको जाहेरीमा उल्लेख छ । 

त्यसरी संकलितमध्ये बीमा बापतको ९ लाख ५० हजार रुपैयाँ, कम्पनीको सेयर बनाउने भनेर ५ जनाबाट ३ लाख रुपैयाँका दरले संकलित रकम १५ लाख रुपैयाँ, विदेश पठाइ दिने भनेर एक जनाबाट संकलित ७ लाख र ४३ जना कर्मचारीलाई ७ महिना सम्मको दिन बाँकी तलब ५५ लाख ७७ हजार ८ सय रुपैयाँ रकम समेत ठगी गरेको भन्दै पीडित ४८ जनाले प्रहरीमा जाहेरी दिएका छन् । 

उनीहरूमध्ये एक जनालाई बर्दिया जिल्ला प्रहरी कार्यालयको सहयोगमा र अर्का एक जनालाई बाँके प्रहरीको सहयोगमा केही दिनअघि पक्राउ गरी दाङमा ल्याइएको हो । 

पक्राउ परेकाविरुद्ध अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको डीएसपी श्यामु अर्यालले जानकारी दिए । 

आरोपितमध्ये सुमन भनिने मानबहादुर देउवा भने राजनीतिक पहुँचका आधारमा जोगिँदै आएको हुँदा पीडितले उनलाई पनि तत्काल पक्राउ गरी आफूहरूलाई न्याय दिन माग गर्दै आएका छन् । 

तर, देउवाले भने आफू कतै नभागेको र असुलेको रकम फिर्ता गर्ने दाबी फोनमार्फत प्रहरीलाई बताउने गरेको एक प्रहरी अधिकारीले बताए ।

उनले लकडाउनका कारण समस्या भएको भन्दै छिट्टै रकम फिर्ता गर्ने बताउने दाबी गर्ने गरेको प्रहरी अधिकारीले जानकारी दिए ।