नेपालगञ्ज  / नेपालगञ्ज नाकामा भारतबाट आएका नेपालीको मलेरिया जाँच गर्न थालिएको छ । भारतबाट आएका तीन जनामा मलेरिया देखापरेपछि नाकामा मलेरिया जाँचलाई कडाइ गरिएको हो । 

साउन, भदौ र कात्तिकमा भारतबाट आएका तीन जनालाई मलेरिया देखिएको नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले बताए। 

OM Sai Pathibhara Hospital

ज्ञवालीका अनुसार भारतको पञ्जाव, चण्डीगढ, गुजरात, मुम्बई र दिल्लीबाट आएका नेपालीलाई नेपालगञ्ज नाकामा विशेष निगरानी राख्दै मलेरिया जाँच गर्ने गरिएको छ। 

नेपालगञ्ज नाकामा चैत्रदेखि नै यो क्रम चलिरहेको छ। ल्याब टेक्निसियन ज्ञवालीका अनुसार बाँके, बर्दिया र कैलालीका एक÷एक जनालाई मलेरिया देखिएको छ। 

बाँकेकालाई पीभी (प्लाज्मोडिएम भाइभेक्स), बर्दिया र कैलालीका व्यक्तिलाई पीएफ (प्लाज्मोडिएम फाल्सीफरम) देखिएको थियो। मलेरिया देखिएका व्यक्ति र उसका घरपरिवारका सदस्यलाई नै उपचार र सर्वे गरिएको छ।

नेपालगञ्ज नाकाबाट धेरै मानिस कालापहाड, सिमला, प्रयाग जाने गर्दछन्। कर्णाली प्रदेशका पहाडी जिल्लाका धेरैजसो मानिस यी सहरमा जाने गर्दछन्। यी ठाउँबाट आएका व्यक्तिलाई मलेरिया देखापरेको छैन। मलेरिया लामखुट्टेको टोकाईबाट हुन्छ।

ल्याब टेक्निसियन ज्ञवालीले सिमलाबाट आएका धेरै मानिसलाई जाँच गर्दा मलेरिया नदेखिएपछि अहिले सिमलाबाट आएकालाई जाँच्न छोडिएको जानकारी दिए।

 ‘हाम्रो फोकस पञ्जाव, चण्डीगढ, गुजरात, मुम्बई र दिल्लीबाट आएका व्यक्तिमा छ’, ज्ञवालीले भने, ‘यी सहरबाट आएका नेपालीलाई हामीले सोधीसोधी मलेरिया जाँच गर्ने गरेका छौं।’

बाँकेमा भारतबाट आएका १३ हजार मानिसलाई मलेरिया आरडीटी जाँच गरिएको छ। गर्मी बढी हुने र लामखुट्टे लाग्ने भएकाले बाँकेमा मलेरियाका बिरामी देखिने गर्दछ। गतवर्ष बाँकेमा मलेरियाका ४२ जना बिरामी थिए।

नेपालगञ्ज नाकामा क्षयरोगको पनि जाँच हुने गर्दछ। ल्याब टेक्निसियन ज्ञवालीले ५२६ जनालाई जाँच गर्दा ६ जनामा क्षयरोग देखिएको बताए।