काँकडभिट्टा / नाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु पाँच करोड बढीको कोदो नेपाल आयात गरिएको छ । 

क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को साउन, भदौ, असोज र कात्तिकमा रु पाँच करोड १५ लाख २५ हजार मूल्य बराबरको एक हजार ६१० मेट्रिक टन कोदो आयात गरिएको हो ।

OM Sai Pathibhara Hospital

गत वर्ष सोही अवधिमा रु चार करोड ५१ लाख ९४ हजार मूल्यको एक हजार ५७० मेट्रिक टन कोदो आयात भएको थियो । 

क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले भारतको उत्तरखण्ड, झारखण्ड र सिलिगुडीबाट कोदो आयात हुने गरेको बताएका छन । उनले गत वर्षको तुलनामा यस वर्ष ४० मेट्रिक टन बढी कोदो आयात भएको जानकारी दिए ।

बिर्तामोड नगरपालिका –५ मा मोती इनटरनेशनल बिक्री केन्द्रमार्फत पवनकुमार अग्रवालले मासिक साढे सात हजार किलो कोदो भारतबाट खरिद गरेर ल्याउने गरेको बताए । उनले भारतबाट ल्याइने कोदोलाई ५० किलोका बोरामा प्याकेजिङ गरेर बिक्री गर्ने गरेको जानकारी दिए । अग्रवाल जस्तै अन्य पाँच बिक्री केन्द्रले भारतबाट कोदो ल्याएर नेपालमा प्याकेजिङ गरेर बिक्री गर्दै आएका छन् । 

नेपाल २० वर्षअघि सम्म हेटौँडाबाट उत्पादन हुने कोदोमा आत्मनिर्भर रहेको तर, हेटौँडामा कोदोको उत्पादन हुन छाडेपछि भारतीय कोदो ल्याएर बिक्री गर्दै आएको उनले बताए । “गुणस्तरीय कोदो उत्पादन हुन्थ्यो हेटौँडामा”, उनले भने, “युवा जति पलायन हुन थालेपछि र कोदो खेती हुने जमिनमा सहरीकरण भएपछि नेपाल कोदोमा परनिर्भर हुनुपर्यो ।” 

कृषि ज्ञान केन्द्रका अर्थविज्ञ शालिकराम भट्टराईले झापामा ९५० हेक्टर जमिनमा मात्र कोदो खेती हुँदै आएको बताए । नेपालको पहाडी तथा तराईका जिल्लामा कोदो खेती प्रशस्तै हुने भए पनि किसानको ध्यान त्यतातिर नजाँदा परनिर्भर हुनुपर्ने बाध्यता भएको बताए । उनले विशेष गरी जाँड रक्सी बनाउनका लागि कोदो भारतबाट आयात हुने गरेको सुनाए । उनले पछिल्लो समय होमस्टे, रेष्टुरामा कोदोको रोटी, ढिँडोको परिकार बनाउनसमेत आयात हुने गरेको बताए ।