काठमाडौं / नौ जना युवाहरूको समूहले ग्लोबल ग्रुप अफ कम्पनी सञ्चालनमा ल्याएका छन् । युवाहरूले करिब एक करोड रुपैयाँको लगानीमा ग्लोबल ग्रुप अफ कम्पनी सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष तोरण थापामगरले जानकारी दिए ।  स्वदेशमै रोजगारी सृजना गर्ने, बढ्दो व्यापार घाटा न्यूनीकरण गर्ने र आर्थिक विकासमा टेवा पुर्याउने लक्ष्यसहित ग्रुप सञ्चालनमा ल्याएको अध्यक्ष  थापामगरले जानकारी दिएका छन् ।

अध्यक्ष  थापामगरले भने ‘बढ्दो क्रममा रहेको रोजगारीको मागलाई सम्बोधन गर्ने हाम्रो प्रमुख लक्ष्य हुनेछ ।’ समूहले विदेशबाट कस्मेटिक सामाग्रीको आयात गरेर बिक्री गर्ने, खाद्यान्न तथा जडिबुटीको बिक्री वितरण गर्ने, हस्तकलाको सामानहरू उनबाट तयार पारिएको गलैँचा, सुन र चाँदीबाट बनेका गहना, थाङ्का, कृषिजन्य उत्पादन, चिया, जुटबाट बनेका सामान खरिद तथा बिक्री गर्ने कम्पनीको योजना छ ।

OM Sai Pathibhara Hospital

यसैगरी, व्यापार बजारीकरण, ब्रान्डिङ सम्बन्धी तालिम र प्रशिक्षण सञ्चालन गरेर आन्तरिक तथा बाह्य बजारमा बिक्री वितरण गर्ने लक्ष्य समेत रहेको कम्पनीका सचिव कुलचन्द्र प्याकुरेलले जानकारी दिएका छन । कम्पनीले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने लक्ष्य लिएको र स्थानीय स्तरमा उत्पादित वस्तुलाई ब्रान्डिङ गरेर स्वदेशी तथा विदेशी बजारमा बिक्री गर्ने लक्ष्य समेत रहेको उनको भनाई छ ।

कम्पनीले आगामी पाँच वर्षभित्र देशभर एक सयवटा तरकारी बिक्री केन्द्र र एक सयवटा बिक्री केन्द्र स्थापना गर्ने लक्ष्य लिएको छ ।