मुग्लिन / गोरखाको मनकामना मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको संख्या बढ्दै गएको छ।

कोरोना महामारीले लामो समय बन्द भई भदौ २३ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएका हुन्।

OM Sai Pathibhara Hospital

हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको संख्या वृद्धि हुँदै गएको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिए।

शनिबार एकैदिन नौ हजार बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन्। तीमध्ये छ हजारभन्दा बढी दर्शनार्थी मनकामना केबलकार चढेर मनकामना दर्शन गर्न पुगेका छन्।

मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले शनिबार एकैदिन छ हजार ७०० ले केबलकार चढेको बताए।

उनका अनुसार कोरोना महामारीका कारण बन्द भएपछि सञ्चालनमा आएको केबलकार एकैदिन छ हजार ७०० जनाले चढेको पहिलोपटक हो।

कोरोना महामारी अघि दैनिक चार हजार ५०० भन्दा बढी दर्शनार्थी केबलकार चढेर मनकामना मन्दिर पुग्ने गर्दथे।

सार्वजनिक बिदा र शनिबारका दिन भने सोभन्दा बढी सङ्ख्यामा दर्शनार्थीहरू केबलकार चढेर मनकामना मन्दिर पुग्ने गरेको नायब महाप्रबन्धक शेरचनले बताए।

मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालनमा रहेको मनकामना केबलकारको तल्लो प्रवेशद्वार चितवनको इच्छाकामना –४ चेरेसमा रहेको छ।

केबलकार बाहेक मोटरबाटो र पैदल मार्फत पनि दर्शनार्थी मन्दिर पुग्ने गर्दछन्।