काठमाडौँ / फ्रान्स सरकारले आफ्नो एक शहरमा शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको प्रतिमा बनाउने भएको छ । 

शताब्दी पुरुष जोशीको प्रतिमा फ्रान्सको एक सहरमा बनाउने समझदारी पत्रमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आज हस्ताक्षर गर्ने भएका छन् । 

OM Sai Pathibhara Hospital

मेयर महर्जन मेयरहरूको सम्मेलनमा सहभागी हुन फ्रान्सका मेयर इस्कुदेलारोको निमन्त्रणामा गत बुधबार फ्रान्स पुगेका छन् । 

मेयर महर्जनको आज फ्रान्सका प्रख्यात कविको सालिक ललितपुर महानगरपालिकामा र एक सय दुई वर्षका वाङ्मय शताब्दी पुरुष, संस्कृतिविद् सत्यमोहन जोशीको प्रतिमा फ्रान्सको एक सहरमा राख्ने सन्दर्भ लगायतका समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वको सालिक तथा प्रतिमा स्थापनाले अपनत्व र घनिष्टता वृद्धिमा सहयोग पुर्‍याउने विश्वास महानगरको रहेको जनाइएको छ । 

फ्रान्सको विभिन्न प्रान्तहरूका मेयरहरूको सम्मेलनमा प्रमुख अतिथिका रुपमा सहभागी हुन मेयर महर्जन फ्रान्स गएका हुन । मेयरको यो भ्रमण ललितपुर महानगरपालिकाको लागि मात्र नभएर देशभरका स्थानीय तहको विकासका लागि पनि महत्वपूर्ण रहेको बताइएको छ । 

मेयर महर्जनले नेपालका २५ भन्दा बढी स्थानीय तह र फ्रान्सका विभिन्न स्थानीय तहहरुबीच भगिनी सम्बन्ध स्थापनाका लागि समन्वय गर्नेछन् ।