खोटाङ / खोटाङको बराहपोखरीमा लाग्ने धार्मिक मेलाकालागि बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । 

हरिबोधनी एकादशीका अवसरमा एक हप्ता लाग्ने उक्त मेलाका लागि भन्दै गाउँपालिकाले कात्तिक २८ र २९ गते सार्वजनिक बिदा दिएको हो । 

OM Sai Pathibhara Hospital

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई सभ्य र भव्य बनाउन दुई दिन सार्वजनिक बिदा दिएको बताइएको छ । 

मेलालाई व्यवस्थित बनाउन दुवै गाउँपालिका तथा बराहपोखरी विकास समितिका तर्फबाट स्वयंसेवकसमेत परिचालन गरिएको छ ।

मेलामा हुनसक्ने आपराधिक घटनालाई न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय चिसापानी र बराहपोखरी तथा सशस्त्र प्रहरी गुल्म चिसापानीबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिए ।

मेलामा विशेषगरी दिवङ्गत भएका आफ्ना आफन्तका नाममा सतबीज छर्ने, फूल तार्ने तथा धामीझाँक्री नाच्ने र दर्शन गर्न आउने भक्तजनका साथै अवलोकन भ्रमण गर्न आउने पर्यटकको भीड लाग्ने गर्दछ । 

चारैतिर घना जङ्गलले घेरिएको ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइ क्षेत्रफलमा फैलिएको प्राकृतिकरूपले बनेको बराहपोखरीमा संसारकै दुर्लभ रातो माछासमेत पाइन्छ ।

सो स्थानमा हरिवोधनी एकादशीसँगै रामनवमी, शिवरात्रि, बालाचतुर्दशी र माघे सङ्क्रान्तिमा पनि मेला लाग्ने गरेको छ । मेला भर्न छिमेकी जिल्ला उदयपुर, भोजपुर, धनकुटा, इलाम, ओखलढुङ्गा, सुनसरी, सप्तरी, सिरहा तथा भारत, चीन, भुटानलगायतका दर्शनार्थी एवं भक्तजन आउने गरेका छन् ।

परापूर्वकालमा एउटा घरको अगेनो (खाना पकाउने ठाउँ) बाट माछा निस्किएपछि त्यसलाई मारेर पोलेर खादा त्यहाँबाट पानी निस्किएर १२ घर मगर बस्ती डुबेर बनेको पोखरी भएकाले यसलाई बराहपोखरी भनिएको  किंवदन्ती छ । 

मुहान र निकास दुवै नभएको तर, बाह्रै महिना उत्तिकै मात्रामा पानी जमेर रहने बराहपोखरीको दक्षिणपट्टि अवस्थित बराहमाईशङ्खेश्वर मन्दिरको पूजा आराधना गरे आफूले चिताएको कुरा पूरा हुने जनविश्वास रहिआएको छ ।

जीवनमा शान्ति मिलोस् भनेर जोडी परेवा उडाउनुका साथै शुद्धताका लागि बराहपोखरीको पानीमा नुहाउने चलनसमेत रहिआएको छ । बाह्रै महिना हरियो देखिने यस पोखरीमा नुहाएमा रोगव्याधी निको हुनुका साथै मोक्ष पाउने जनविश्वास छ ।

विवाह गरेको लामो समयसम्म सन्तान नभएका जोडीले बराहपाखरीमा गएर पूजा गरे सन्तान पाइने जनविश्वास छ । प्राकृतिकरूपमा सुन्दर तथा धार्मिक आस्थाका धरोहर मानिने बराहपोखरीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि वृद्धि हुँदै गएको बराहपोखरी गाउँपालिका अध्यक्ष युवराज मगरले जानकारी दिए ।