ताप्लेजुङ / ताप्लेजुङमा रहेको लिम्बूहरु समूदायको पहिचान झल्किने पहिलो लिम्बू संग्रहालय ओझेलमा पर्दै गएको छ । 

लिम्बू समुदायको पुरातात्विक पहिचानलाई संरक्षण गर्ने साथै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संग्रहालय स्थापना गरिएको भए पनि आवश्यक चासो र व्यवस्थापनको अभावमा ओझेलमा पर्दै गएको हो ।

OM Sai Pathibhara Hospital

जिल्लाको सिरिजङ्घा गाउँपालिका –६ मामाङ्खेमा रहेको लिम्बू सङ्ग्रहालयको उचित व्यवस्थापन र सरोकारवालाले संरक्षणका लागि चासो नदिएकाले ओझेलमा पर्दै गएको स्थानीयको भनाइ छ । 

लिम्बू समुदायको पहिचान झल्काउने पुरातात्विक र ऐतिहासिक सामग्री सङ्कलन गरेर राख्नका लागि नेपालमै पहिलो पटक २०५७ सालमा उक्त संग्रहालयको स्थापना गरिएको थियो । तर, अहिले संग्रहालय गुमनाम (बेखबर) जस्तै बन्दै गएको छ । 

संग्रहालयमा संग्रहित सामग्रीको उचित व्यवस्थापन नहुँदा पुरातात्विक सामग्रीहरू जीर्णसमेत बन्दै गएका छन् । सङ्ग्रहालयमा लिम्बू समुदायले परापूर्व कालदेखि प्रयोग गर्दै आएको हात हतियार, शिकार गर्दा प्रयोग गर्ने आवश्यक सामग्रीहरू तथा लिम्बू समुदायको जन्म र मृत्यु संस्कारमा आवश्यक पर्ने सामग्रीहरू सङ्कलन गरेर राखिएको छ ।

त्यस्तै वि. स. १८१४ र १८३१ मा पृथ्वीनारायण शाहले लिम्बूसँग गरेको सन्धि–सम्झौता र युद्धमा प्रयोग गरिएको ढालहरुलाई संग्रहालयमा संरक्षण गरेर राखिएको छ । 

लिम्बू समुदायका पुर्खाहरुको पालादेखि प्रचलनमा रहेको फेदाङ्मा र विजुवा (झाँक्री तथा पुजारी) ले प्रयोग गर्ने पहिरन जामा, पगरीजस्ता सामग्री संग्रहालयमा संग्रहित गरिएको छ । 

जुन संग्रहालयमा संरक्षण गरी राखिएको प्राचीन पुरातात्विक सामग्रीहरु हाल कतिपय लोप भइसकेका छन् भने केही लोपोन्मुख हुँदै गएका छन् ।

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर जाने पदर्मागमा रहेकाले आन्तरिक साथै बाह्य पर्यटक समेतले अध्ययन अवलोकन गर्ने केन्द्र बन्नसक्ने सम्भावना भए पनि अहिलेसम्म संग्रहालय ओझेलमा परेको बताइएको छ ।