काठमाडौं//एघार लाख बराबरको भन्सार छलेर भित्र्याइएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका–४ का ५७ वर्षीय खड्क प्रसाद तिमल्सिना रहेका छन्। विदेशबाट फर्किने युवकहरुमार्फत संकलन गरिएको अवैध सुन बोकेको उनीमाथि आरोप छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ एरियामा आई विभिन्न देशबाट आगमन भएका यात्रुहरुलाई भन्सार छलि गर्न लगाई उक्त सुन अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा उनि पक्राउ परेका हुन्।
११ लाख ६२ हजार ५ सय ७५ रुपैयाँ मूल्य बराबरको १ सय ५० ग्राम सुनको ३ थान बाला सहित पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाईएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जानकारी गराएको छ।