काठमाडौं / दुर्गा पक्ष शुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ ।
गत वर्ष दुर्गा पक्षका बेला कोरोनाको जोखिम बढेकाले भक्तजनलाई दर्शन गर्न असहज थियो । यस वर्ष कोरोनाको जोखिम कम हुँदै गएकाले शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको हो ।
विगत वर्षमा काटिएको घटस्थापनाको दिनको सार्वजनिक बिदा यस वर्षदेखि सरकारले फेरि दिन थालेकाले पनि शक्तिपीठमा भक्तजनको भीड लागेको हो ।
नवरात्री नपरेका बेला पनि आज देवी मन्दिरमा भक्तजनको भीड लाग्छ । शरद ऋतुमा पर्ने आश्विन शुक्ल पक्ष देवीको पूजा आराधनाका लागि उत्तम समय मानिन्छ । यो बेला वर्षा सकिएर वातावरण पनि रमाइलो र घमाइलो देखिन्छ ।
बडादसैँका रुपमा समेत मनाइने यो नेपालीको राष्ट्रिय चाड हो । बडादसैँको पहिलो दिनदेखि नै घरघरमा घटस्थापना गरी नवदुर्गाको विशेष पूजा आराधना गरिन्छ । आज घटस्थापनाको साइत बिहान ११ः ४६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
आज दिनभर चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापनाअघि शान्ति गर्नुपर्ने शास्त्रीय विधि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।
चित्रा नक्षत्रको स्वामी त्वष्टा अर्थात् विश्वकर्मा र वैधृति योगका स्वामी अदितिको पूजा आराधना गरेर दोष मुक्तिका लागि शान्ति गर्नुपर्छ ।