बिर्तामोड (आजको नेपाल समाचारपत्र दैनिकबाट) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र ऐतिहासिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण पाटी र ढुंगेधारा (फल्चा र हिटी) ५२ वर्षदेखि बेवारिसे अवस्थामा रहेको पाइएको छ ।
काठमाडौं महानगरपालिका–३२, पुरानो सिनामंगलमा रहेको विमानस्थल परिसरभित्र सो पाटी र त्यसको वरिपरि दुई–दुई वटा ढुंगेधारा रहेको छ । सिनामंगल चोकबाट पश्चितर्फ करिब डेढ सय मिटर पर रहेको सो पाटी र ढुंगेधारा २०२१ सालको नापीमा समेत उल्लेख गरिएको छ ।
राजा महेन्द्रले २०११ सालमा जीर्णोद्धार गरेको यो पाटीलाई महेन्द्र फल्चा पनि भनिन्छ । फल्चा वरिपरि महेन्द्र पालाका ईंटाहरू पनि छन् । त्यस वरिपरि दुई ढुंगेधारा पनि भएको स्थानीयले बताएका छन् । एक ठाउँमा पोखरी जस्तो अवशेष बाँकी नै छ भने एउटा पुरिएको अवस्थामा रहेको पाइएको छ ।
विमानस्थल बनाउन सरकारले जग्गा अधिग्रहण गरेपछि सो स्थान हाल विमानस्थलको क्षेत्रभित्र परेको छ । पुराना सिनामंगल पाटी तथा ढुंगेधारा संरक्षण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मणबहादुर विष्ट भन्छन, ‘अहिले त्यहाँको पूरै ठाउँ लामो लामो झारले छोपिएको अवस्थामा छ । ढुंगेधारा माटोले पुरिएको छ । यसको उत्खनन गरी संरक्षण गर्नुपर्दछ ।’
२०२६ सालमा सरकारले सो स्थान विमानस्थलको परिसरभित्र पारेपछि त्यहाँका पुरात्तात्विक महत्वका सम्पदाहरू अलपत्रमा परेको छ । त्यही बाटो हुँदै पहिले भक्तपुरबाट बानेश्वर, डिल्लीबजार, मैतिदेवी हुँदै रत्नपार्क जाने बस चल्ने गरेको स्मरण गर्दै ६५ वर्षीय विष्टले भन्छन, ‘यहाँबाट नवदुर्गा, अन्नपूर्ण भन्ने बस चल्थ्यो । पछि २६–२७ सालतिर दक्षिण कोरियालाई यहाँ रन–वे विस्तार गर्ने टेन्डर पर्यो । अनि विभिन्न ठाउँबाट माटो ल्याएर समथर बनाई रन–वे बनाइयो ।’
स्थानीयले सो स्थानको संरक्षण गर्न पुरात्व विभाग, काठमाडौं महानगरपालिका, विमानस्थलको प्रशासन र नेपाली सेनाको ध्यानाकर्षण गराइसकेको छ । स्थानीयले यसका लागि चरणबद्ध कार्यक्रम पनि गर्दै आएका छन् । केही समयअघि सम्पदा अभियन्ता र नेपाली सेनाको सहयोग लिएर स्थानीयको पहलमा सो स्थानमा सरसफाइ र उत्खनन गरिएको थियो । त्यसपछि बाँकी कार्य अघि बढाउन महानगरपालिकाको वडा ३२ को कार्यालयले विभागसमक्ष सिफारिस गरेको थियो । वडाले ऐतिहासिक, पुरातात्विक एवं सांस्कृतिक मान्यता भएको हिटी, तथा फल्चा बेवारिस अवस्थामा रहेको उल्लेख गर्दै गत चैत्रमा विभागसमक्ष सिफारिस गरेको थियो । त्यसपछि पुरात्व विभागकी अधिकृत सविता न्यौपानेसहितको टोलीले अनुगमन गरेर जीर्णोद्धारका लागि केही बजेट छुट्टयाएको थियो । तर, विमानस्थलसँग समन्वय हुन नसकेपछि त्यो काम अहिले रोकिएको छ ।
विमानस्थलको कुनै प्रयोजनका लागि पनि उपयोग नभएकाले स्थानीयले करिब एक रोपनी १३ आनामा फैलिएको सो ठाउँमा ऐतिहासिक विषयको खोजी, उत्खनन र संरक्षण गर्दै पर्यटकीयस्थल बनाउनुपर्ने माग राखेका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार सो ठाउँ ‘एयर साइड’ भित्र पर्दछ । हवाईजहाज पार्किङका लागि ठूलो क्षेत्र नभएकाले जहाजहरू आकाशमै केही समय ‘होल्ड’ गरेर बस्नुपर्ने अवस्था बढिरहेको बताउँदै सो स्थानमा पार्किङ बनाउने गुरुयोजना रहेको प्राधिकरणले जनाएको छ ।
पुरातात्विक र ऐतिहासिकरूपमा सो पाटी, ढुंगेधारा र शिलालेखहरू महत्वपूर्ण रहेको छन् । धार्मिक, सांस्कृतिक र इतिहासको अध्ययनको हिसाबले यस्ता महत्वपूर्ण स्थल संरक्षण गर्नुपर्ने सम्पदा अभियन्ता यादवलाल कायस्थको भनाइ छ । प्राधिकरणले त्यहाँको सम्पदा सार्ने विकल्प दिएको भए तापनि स्थानीय मान्न तयार छैनन् । सो स्थान विमानस्थलको रन–वे भन्दा पर रहेकोले संरक्षण गरी त्यसलाई आकर्षक स्थानको रूपमा राखिराख्न कुनै बाधा नभएको अभियन्ता कायस्थ बताउँछन ।
मेयर विद्यासुन्दर शाक्य पनि ऐतिहासिक स्थलको संरक्षण गर्न महानगरपालिका सकारात्मक रहेकोे बताउँछन । मेयर शाक्यले भने, ‘स्थानीय र सम्पदा अभियन्ताले एकपटक सो विषयमा कुरा गरेको थियो । पछि कुरो भएन । यस विषयमा गम्भीररूपमा कुराकानी हुन बाँकी नै छ । त्यहाँको अवस्था बुझेर सबैसँग समन्वय गरी महानगरपालिकाले पार्टीको संरक्षण गर्ने काम गर्नेछ ।’