अहिले देशको परिस्थिति असाधारण र असामान्य रहेको छ । किनकि देशमा सरकार छ, तर संविधानअनुसार बनेको छैन । बलमिच्याइँले यो सरकार बनेको छ ।
अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि सर्त राख्नुभएको छ — शपथ ग्रहण गरेपछि तुरुन्तै संसद् भङ्ग गर्ने सिफारिस गर्छु । त्यो भङ्ग र सिफारिस लागू गर्नुपर्छ र संसद् भङ्ग गर्ने हो भने मात्रै प्रधानमन्त्री हुन्छु, नत्र भने देशमा जेनजीले आगो बाल्छन् । संसद् भङ्ग गर्ने पूर्वसर्त राखेर सर्वोच्च, सार्वभौम सत्ता सम्पन्न जनताको सर्वोच्च प्रतिनिधि संस्थाको अन्त्य, लोकतन्त्रको जग भत्काउने सर्तमा सुशीला कार्कीजी प्रधानमन्त्री हुनुभयो ।
उहाँलाई राम्ररी थाहा छ– नेपालको संविधान व्याख्या गरेर आएको मान्छे हो उहाँ । के के व्याख्या गर्नुभयो त्यो सब छोड्दिनुस् । तर, नेपालको संविधानले स्पष्ट रूपमा भन्छ — सर्वोच्च अदालतको न्यायाधीश भइसकेको व्यक्ति, पूर्व प्रधानन्यायाधीश अथवा प्रधानन्यायाधीश भइसकेको व्यक्ति कुनै पनि सरकारी लाभका पदमा बस्न सक्दैन ।
अराजकता यस देशमा स्थायी हुन सक्दैन । अराजकताको बाटोमा देश जान सक्दैन । देशलाई लोकतन्त्रको बाटोमा, संविधानको बाटोमा, कानुनको बाटोमा, कानुनी राजको बाटोमा फर्काइन्छ । हाम्रो सङ्कल्प त्यो हो । नेपालका जेनजी लगायत सम्पूर्ण युवाहरूको, सम्पूर्ण नयाँ पिँढीको उद्देश्य यो देशमा शान्ति सुव्यवस्था कायम हुनुपर्छ भन्ने हो,शान्ति सुव्यवस्था कायम गरेर छोडिनेछ ।
जेनजी लगायत सम्पूर्ण युवाहरूको, नयाँ पिँढीको भावना — यस देशमा कानुनी राज हुनुपर्दछ, सुशासन हुनुपर्दछ, भ्रष्टाचार नियन्त्रण हुनुपर्दछ भन्ने हो । म भन्न चाहन्छु — सम्पत्ति छानबिन गर । एकपटक होइन, दशपटक सम्पत्ति छानबिन गर ।
म सोध्न चाहन्छु मन्त्रीजीहरू —तपाईंहरूको सम्पत्ति छानबिन गराउन आँट गर्नुहुन्छ ? अब यस्तै अहिले बनाएजस्तै आयोग बनाउन पाउनुभयो भने त गराउनु होला । मजाको कुरा— पहिले नै केपी ओलीलाई समाउनुपर्छ, थुन्नुपर्छ, मुद्दा लगाउनुपर्छ, जकाउनुपर्छ भन्नेहरूको आयोग बनाएर गजबको ड्रामा भयो है ? ड्रामा । पहिले नै केपी ओली समाउनुपर्छ भन्ने मान्छेहरूले आयोग बनाएर छानबिन गरेर प्रतिवेदन दिने नाटक गरे, अनि त्यो प्रतिवेदनका आधारमा अगाडि बढ्ने नाटक गर्ने ? यस्ता नाटक नेकपा एमालेलाई मन्जुर छैन, स्वीकार्य छैन । मैले मधुरो भाषामा भनेको छु — यो स्वीकार्य छैन भनेर । तर बुझ्नुस्, नेकपा एमालेलाई यो नक्कली आयोग मन्जुर छैन ।
अराजकता यस देशमा स्थायी हुन सक्दैन । अराजकताको बाटोमा देश जान सक्दैन । देशलाई लोकतन्त्रको बाटोमा, संविधानको बाटोमा, कानुनको बाटोमा, कानुनी राजको बाटोमा फर्काइन्छ । हाम्रो सङ्कल्प त्यो हो ।
किन भने मन्जुर छैन भने गम्भीर प्रश्नहरू । उहाँहरूको पूर्ववर्ती अभिव्यक्तिहरू, आयोगमा राखिनुभन्दा अगाडि आयोगमा बस्नुअघि गरेका अभिव्यक्तिहरू । ती अभिव्यक्तिहरूको प्रश्न उठिसकेपछि सप्रमाण मानिसले ल्याइसकेपछि उहाँहरूले नैतिकताको आधारमा राजीनामा दिनु पर्दैनथ्यो ? एउटा मान्छे अहिले विरोधीबाट निष्पक्ष हुन सक्छ ? विरोधीबाट उहाँहरू निष्पक्ष हुनुभयो ? के गर्नुभयो ? गंगाजलले नुहाउनुभयो ? बागमतीको पानीले नुहाउनुभयो ? के–के गरेर उहाँहरू निष्पक्ष हुनुभयो, त्यो बताउनु पर्ने थिएन ? बोल्नुभयो त–हामी निष्पक्ष छौँ भन्न सक्नुभयो ? लुसु–लुसु अगाडि बढ्नुभएको छ । बढ्नुस् । तपाईंहरूको प्रतिवेदन लेख्नुस् ।
विचार बोकेर, संगठन बनाएर, देश बनाएर, देशको सार्वभौमसत्ताका लागि लडेर, देशको भूमि आफ्नो नक्सामा सामेल गरेर, संविधानको अंग बनाएर नेकपा एमाले आएको हो । देश विकासको एउटा मार्गचित्र प्रस्तुत गरेर, देश विकासको नमुना देखाएर, देशलाई एउटा अवस्थाबाट अर्को अवस्थातिर उठाएर आएको हो । नेपालको विकासको बाटो प्रस्तुत गरेर आएको हो । विश्व रङ्गमञ्चहरूमा, विश्वमञ्चमा नेकपा एमालेले नेपाललाई चिनाएको छ— खास पहिचान देखाएको छ । अहिले त्यस पहिचानलाई केही घण्टाभित्र मटियामेट गर्न खोजियो ।
प्रश्न उठेको छ । हामी शान्तिका सबैभन्दा ठुलो योगदानकर्ता हौँ । अब संयुक्त राष्ट्रसंघले कसरी सोच्ला ? गम्भीर प्रश्न उठ्छ । कसरी सोच्छ ? विभिन्न देशमा हाम्रा दाजुभाइहरू गएर काम गरिरहेका थिए । भिसा नदिने भएपछि त्यसको असर नेपालमा के पर्ला ? होटेल जलाइयो । एयरपोर्टहरूमा आक्रमण भयो । होटलमा मान्छे मारिए, लुटिए टुरिस्टहरू । आन्दोलनको अगुवाइमा अगाडि–अगाडि हिँडेका अहिलेका पदाधिकारीहरू देखिन्छन् । नेपालको पर्यटन के होला ? त्यो सोचिँदैन ? उहाँहरूलाई केही गर्नु छैन ? नेपालमा अस्थिरता कायम गर्नुपर्छ । नेपाललाई रसातलमा पुर्याउनुपर्छ । नेपालका उद्योगहरूमा आगो लगाएर ध्वस्त बनाउनुपर्छ । नेपालको पर्यटन व्यवसाय चौपट बनाउनु, अनि त्यहीँ काम भएको हो ।
जेनजीहरू जन्मिनुभन्दा अगाडि देखि हामी लडिराखेका छौँ — भ्रष्टाचार नियन्त्रण गर्नुपर्दछ भन्ने हो । ठिक छ, मैले भनेको छु मेरो सम्पत्ति छानबिन गरियोस् । पहिले नै भनेको छु — दसपल्ट यहाँ मात्र होइन, यदि चित्रगुप्त छ भने चित्रगुप्तको खातामा हिसाब छ भने धर्तीमा मात्रै होइन, मरेपछि पनि स्वर्गमा गएर जवाफ दिनुपर्छ । खाता हेरे हुन्छ, बहीखाता पल्टाए हुन्छ । चित्रगुप्तले केपी ओली शुद्ध हुन्छ । अब मन्त्रीजीहरू त्यसै भन्न सक्नुहुन्छ ? छानबिन गराउन सक्नुहुन्छ ?
म धेरै कुरा भन्न चाहन्नँ । नेपालका, अन्यत्रका कहाँ–कहाँका पैसाले चलाइएको थियो ? चलेको थियो ? समयक्रममा तथ्यहरू बाहिर आउँदै जानेछन् । अब हामी कसैलाई भ्रम पर्नु हुँदैन । अहिलेको सरकार संविधान सम्मत छैन भन्ने पहिलो कुरा । दोस्रो यसको क्रियाकलाप लोकतान्त्रिक छैन, संविधानसम्मत छैन, कानुनी राजतर्फ होइन, राज्य आतंक सिर्जना गर्न खोजिरहेको छ । चुनावको एउटा नाटक मञ्चन गरेर नेताहरूलाई जेल हालेर, मुद्दा लगाएर, अपमान गरेर, बुथ कब्जा गरेर, कसैलाई चुनाव लड्न नदिएर आफू मात्र चुनाव लडेर दिग्विजय घोषणा गर्ने सपना देखिरहेको होला । त्यो सपनाको टाउकामा नेकपा एमालेले, लोकतान्त्रिक अरू पार्टीहरूले पनि मिलेर, लोकतान्त्रिक शक्तिहरूले, नेपाली जनताले, नेपालका जेनजी लगायतका यूथहरूले त्यस खालका सपनाहरूलाई दिवा सपना सम्झिन्छन् । जसको टाउकोमा चिसो पानी खनाइएको छ । त्यो सपना साकार हुँदैन ।
चुनाव गराउनुपर्ने छ । उहाँहरू राजनीतिक दल होइनन् । राजनीतिक दलसँग संवाद गर्नुहुन्न । राजनीतिक दलमाथि दमन गर्न उत्रिनुभएको छ, बदनाम गर्न उत्रिनुभएको छ । अनि राजनीतिक दलहरूसँग पौँठेजोरी खेलेर, राजनीतिक दललाई बाइपास गरेर, राजनीतिक दललाई दमन गरेर चुनाव हुन्छ ? उहाँहरूको प्रतिनिधि, उहाँहरूको नेतृत्वदायी व्यक्तिहरू अनधिकृत भए पनि आधिकारिक ढंगले भूमिका खेलेर नेताहरूलाई चुनावमा निस्किनै दिँदैनौँ भन्ने ? जसको निर्देशनमा उहाँहरू काम गर्दै हुनुहुन्छ, हामीले देखिरहेका छौँ । गृहमन्त्रीले विभिन्न व्यक्तिहरू बोलाएर “फलाना–फलानाका विरुद्ध उजुरी दिनू, निवेदन हाल्नु” भनेर भनेका छन् । उनीहरूले निवेदन दिएका छन् । निवेदन आयो, प्रेसर आयो भनेर उहाँहरूले कारबाही गर्न दबाब दिनुभएको छ । यो दुनियाँमा लुकेको कहाँ छ ? कहीँ लुकेको विषय हो र यो ? यो लुकेको विषय होइन । उहाँहरू यी सबै काम गरिरहनुभएको छ । यो ड्रामा हो । ड्रामा गरिरहनुभएको छ, नकारात्मक ड्रामा । देशको अहित हुने, शान्ति–सुव्यवस्था खलबलिने ड्रामा उहाँहरूले गरिरहनुभएको छ ।
उहाँहरू चुनाव गर्न खोजिरहनु भएको छैन । विभिन्न देशमा हामीले देखेका छौँ । म्यानमारमा कहाँ चुनाव भयो ? जननिर्वाचित सरकारलाई अपदस्थ गरेर, लोकतन्त्र मिचेर बनेका सरकारहरूले लोकतन्त्र चाहँदैनन् । लोकतान्त्रिक बाटोमा मुलुक फर्काउँदैनन् । यो हामीले विभिन्न देशमा देखेका छौँ । जनताले तिनीहरूलाई बाध्य बनाएर देशलाई फेरि लोकतान्त्रिक बाटोमा फर्काउँछन् ।
असंवैधानिक रूपमा संसद् विघटन गरियो । संसद् विघटन गर्ने अधिकार, संविधान मिच्ने अधिकार कसले प्राप्त गर्यो ? कहाँबाट प्राप्त गर्यो ? संसद्, संविधान र संसद् कायम राखेर निकास खोजौँ । यसमा त्यतिबेलाका निर्णायक पक्षहरूको पनि सहमति थियो । मसँग कुरा हुँदा संविधान कायम राख्ने, संसद् कायम राख्ने र संविधान र संसदभित्रबाट निकास खोज्नेमा सबैको सहमति थियो । तर वार्ता सरकारले गर्न नपाउने । वार्ता सरकारले होइन, सरकारले राजीनामा गर्नुपर्ने, वार्ता अरूले नै गर्ने । दुनियाँमा कहाँ हुन्छ त्यस्तो ? राजनीतिक दलहरूले वार्ता नगर्ने, राजनीतिक दलहरूले वार्तामा नबसेर अरूले गर्ने ? देशको राजनीति कसरी गर्ने कसरी जाने भनेर दलहरूले, भन्ने हो । जो संविधानका निर्माता हुन्, लोकतन्त्रका सर्जक हुन् । ती राजनीतिक दलहरूले देशको शासन केहीतिर हेर्न नपाउने ? अनि अचानक भुईँफुट्टा तत्त्वहरू निकालेर शासन गर्ने ? त्यसो भए...।
अब हामीले देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक रूपमा विघटन गरिएको संसद् तत्काल फिर्ताको माग राखेर अगाडि बढ्ने बाहेक अर्को विकल्प छैन । र, मैले विश्वास लिएको छु — नेपाली कांग्रेस पनि यही बाटोमा अघि बढ्नेछ । नेकपा एमाले यहीं बाटोमा अघि बढ्नेछ । अरू पार्टीहरू पनि यहीं बाटोमा अघि बढ्नेछन् । अर्को बाटो छैन देशलाई लोकतान्त्रिक मार्गमा, प्रणालीमा फर्काउने । त्यसो गरेनौँ भने असंवैधानिक र अलोकतान्त्रिक कदमहरू, क्रियाकलापहरू स्विकारेर अगाडि बढ्न खोज्यौँ भने देश बर्बादीमा पुग्छ ।
प्रधानमन्त्री र मन्त्रीको त कुरै छोड्नुस्— बस्नै सक्दैन । उहाँलाई राम्रै थाहा छ ।
तर, उहाँ सुरिन भयो । उहाँ सुरिनु भएका कारण २३ गते जेनजी बनेर सडकमा उत्रिनुभयो । २४ गते पनि सडकमा उत्रिनुभयो । उहाँ केका लागि उत्रिनुभयो ? यो चुनाव गराउने भन्ने त राष्ट्रपतिले तोकिदिएको म्यान्डेट हो । उहाँहरूको उद्देश्य त्यो होइन । राष्ट्रपतिले तोकिदिएको हो — २१ फागुनमा चुनाव गराउने । उहाँहरू के गर्दै हुनुहुन्छ ? पहिले पनि उहाँहरू जुलुसमा गएर भाषण गरिरहनुभथ्योः –केपी ओलीलाई गिरफ्तार गर्नुपर्छ, कारबाही गर्नुपर्छ । अहिले राति–राति ३ बजेसम्म मिटिङ गरेर कसरी केपी ओलीलाई गिरफ्तार गर्न सकिन्छ ? कसरी नेपाली कांग्रेसका रमेश लेखकलाई गिरफ्तार गर्न सकिन्छ ?भनेर छलफल गर्नुहुन्छ ।
सर्वप्रथम उहाँहरूले एउटा तमासा देखाउनुभयो—सडक तमासा । त्यो सडक तमासाको अर्थ के हो भने, केपी ओली लगायत केही मान्छेहरूको पासपोर्ट रोकियो । मैले पहिले पनि भनेँ — यो सरकार जसरी बनेको छ, मैले संक्षेपमा मात्रै भनेँ- हारबाट बनेको सरकार । त्यसको अलि व्याख्या बाँकी छ, समयमा गरौँला । यो कसैको प्रतिनिधि होइन । नेपालीको पनि होइन । अन्त कतैको भए थाहा छैन ।
उहाँहरूले एउटा तमासा देखाउनुभयो—सडक तमासा । त्यो सडक तमासाको अर्थ के हो भने, केपी ओली लगायत केही मान्छेहरूको पासपोर्ट रोकियो । मैले पहिले पनि भनेँ — यो सरकार जसरी बनेको छ, मैले संक्षेपमा मात्रै भनेँ- हारबाट बनेको सरकार । त्यसको अलि व्याख्या बाँकी छ, समयमा गरौँला । यो कसैको प्रतिनिधि होइन । नेपालीको पनि होइन । अन्त कतैको भए थाहा छैन ।
कसैले छानेको सरकार होइन यो । उहाँहरू एउटा खास उद्देश्यले काम गरिरहनुभएको छ । पासपोर्ट रोक्का गरियो । अर्को तमासा के भयो भने काठमाडौँ भ्याली, यो डाँडो काटेर परतिर जान नपाउने । केपी ओली यो डाँडो — डाँडोसम्म जान पाउँछ वा पल्लापट्टि हेर्न पाइने कि नपाइने — त्यो पनि थाहा छैन ।
पर्तिरपट्टि पाइला टेक्न नपाउने, पानीढल, काठमाडौँ उपत्यका छोड्न नपाउने भनियो —त्यहीं होला नि ! पानीढलको सिमाना । वाह ! यो तमासा नभए, सडक तमासा नभए के हो यो ? यहीँ तमासाबाट उहाँहरूले सुरु गर्नुभयो ।
सुशीला कार्कीको डरले केपी ओली भाग्छ ? के सोचेका ? तपाईंहरू कतिले नाम सुन्नुभएको थियो–अहिलेको गृहमन्त्रीको ? मैले त नाम पनि सुनेको थिइनँ । गृहमन्त्री भएपछि थाहा पाएँ । गृहमन्त्रीका सम्बन्धमा मलाई धेरै केही भन्नुपर्ने छैन । गृहमन्त्री बाबुलाई धेरै नउत्ताउलिन, नचम्किन, नमात्तिन सल्लाह दिन चाहन्छु ।
राजनीति ख्यालठट्टा होइन । देश चलाउने कुरा ख्यालठट्टा होइन । त्यस कुरालाई बुझेर चल्न म सुझाव दिन चाहन्छु, त्यति हो ।
हामीले पञ्चायत देख्यौँ, निरंकुश राजतन्त्र देख्यौँ । अस्ति भर्खर राजा ज्ञानेन्द्रले गरेको कु देख्यौँ— प्रतिगमन देख्यौँ । सबै कुरा देख्यौँ । जेलनेल भोग्यौँ, कठिनाइ भोग्यौँ । हाम्रा लागि नयाँ कुरा होइन । हामीले भनेका छौँ—यो देशको रक्षाका लागि, यो देशको सार्वभौमसत्ताको रक्षाका लागि, यो देशको स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डताको रक्षाका लागि, यो देशको हितको रक्षाका लागि, यो देशको स्वाभिमान तल जान नदिनका लागि हामी जुनसुकै बलिदान दिन तयार छौँ । जिस्काउनु पर्दैन । त्यसका लागि लडेर यो ठाउँसम्म आइपुगेका हौँ । जिस्काइरहनु पर्दैन ।
म कुनै चुनौतीको भाषा बोल्न चाहन्नँ । तर हामी जनताको शासन ल्याउँछौँ, लोकतन्त्र ल्याउँछौँ भनेर लडेका हौँ, ल्याएका पनि हौँ ।
कहिले कहिले यस्तो हुँदो रहेछ, हुन्छ यस्तो । यो देशमाथि हमला छ । यो देशको सार्वभौमसत्ता माथि हमला छ । यो देशको भौगोलिक क्षेत्रमा हमला छ । यो देशको हितमाथि हमला छ । यो देश बलियो होस् भन्ने चिन्ता कसैलाई छ भन्ने कारणले हमला भइरहेको छ । त्यो षड्यन्त्रका मतियार भएर को आउँछन् ? त्यसको हामी सामना गर्छौ ।
अहिले कुनै संविधान अन्तर्गत यो सरकार बनेको छैन । अघि महासचिवले लामो व्याख्या गरिसक्नु भएको छ । कुनै जनप्रतिनिधि संस्थाले छानेको होइन । उहाँहरू जनताको अभिमतबाट छानिनँ पनि सकिँदैन । नेपालको जनसङ्ख्या ३ करोड छ । देशभरि हतियार तथाकथित आन्दोलनमा उत्रिने सङ्ख्या, तोडफोड, आगजनीमा उत्रिने सङ्ख्या कति होला ? एक लाख ? एक प्रतिशत पनि हुँदैन । एक प्रतिशतको एक तिहाइ जति पनि छैन । बाँकी जनता देशमा छँदैछ । एक प्रतिशत पनि होइन यो वितण्डा खडा गर्ने ।
भ्रम नहोस्–जेनजीलाई यसो भन्यो भनेर । फेरि भरेदेखि हल्ला चल्छ । मैले जेनजी भन्न चाहेको थिइनँ । जेनजी भनेको १९९७ इस्वीदेखि २०१२ सम्म जन्मिएका व्यक्तिहरूलाई जनाउँछ । त्यो १५ वर्षको अवधिमा जन्मिएका । अनि १३ भन्दा अघि जन्मेका, ९७ भन्दा अगाडिका नहुने भन्ने ? जेनजी भनेर केही युवाहरूलाई भ्रममा पारेर, जेनजीको नाममा नेपालको राजनीति गर्छु भन्नेहरू, नेपालमा अस्थिरता कायम गर्छौँ भन्नेहरू असफल भए। माओवादीले आन्दोलन गरे पनि असफल भयो– भत्काउन भड्काउन सकेन । रास्वपा उफ्रियो, करायो, मच्चियो, थच्चियो । केही पनि भएन । राप्रपाले उधुम मच्चाउन खोज्यो, केही गर्न सकेन । अहिले सबै चुप लागेर पछाडि बसेर जेनजी भन्ने बालबालिकालाई अगाडि सारेर आफूहरू पछाडि बसेर । पेट्रोल जेनजीले फ्याँक्यो ? आगो जेनजीले लगाएको हो ? आगो लगाउनेमा को–को थिए ? गृहमन्त्रीले कारबाही नगर्नु भनेर आदेश दिने । तर यत्रो अपराध ? देशव्यापी अपराध । राष्ट्रको ऐतिहासिकता, राष्ट्रको समृद्धि, राष्ट्रको उद्योगधन्दा, नेपालको विभिन्न संरचनाहरु ध्वस्त गर्ने काम — यी सबै शैह्य हुन सक्दैन ।
म के भन्न चाहन्छु भने यो देश साझा हो । यहाँ बस्नै नपाउने ठाउँ बनाइँदैछ ।
तपाईं पत्रकारहरू, तपाईंहरूले सकारात्मक कुरा लेख्नुभयो भने फोन आइहाल्छ । सिंहदरबार जलाइयो, केपी ओलीको घर जलाइयो, शेरबहादुर देउवालाई पिटियो भने— “तँलाई सिध्याइदिन्छु” भनेर । वाह ! यसैका लागि ल्याएको हो लोकतन्त्र ? यसैका लागि उहाँहरूले भनेको लोकतन्त्र ? के ल्याएको यो ?
हामीले समयमा दृढतापूर्वक उपयुक्त कदम चाल्न सकेनौँ भने पछि “ढिला भएछ” भनेर पछुतो मान्ने मात्रै हुनेछ । कतिपय मानिसहरू भन्छन् — फागुन २१ गते चुनाव भएन भने त्यसपछि संसद् पुनर्स्थापनाको माग गरौँला । संसद् विघटन असंवैधानिक छ, गलत छ, गैरकानुनी छ, अलोकतान्त्रिक छ, देशहितका विरुद्धमा छ ।
हामीलाई थाहा छैन र ? पर्खिनुपर्र्यो फागुन २१ गते ? फागुन २१ गते पर्खिनुपर्दैन । हामी अगाडि बढ्ने बेला आएको छ । नेपाली जनता आन्दोलनको आँधी–तुफान सिर्जना गरेर अगाडि बढ्नुपर्नेछ ।
हामीलाई थाहा छैन र ? पर्खिनुपर्यो फागुन २१ गते ? फागुन २१ गते पर्खिनुपर्दैन । हामी अगाडि बढ्ने बेला आएको छ । नेपाली जनता आन्दोलनको आँधी–तुफान सिर्जना गरेर अगाडि बढ्नुपर्नेछ ।
नागरिकहरूको शान्ति राजनीतिक दलहरूको अगुवाइमा गर्नुपर्छ । नेकपा एमालेले अगुवाइ गर्नेछ । त्यसकारण पहिलो कुरा, देशको रक्षा गर्न नागरिकहरू तर्फबाट आउनुपर्छ, मोबिलाइज हुनुपर्छ । देशमा शान्ति–सुव्यवस्था कायम गर्न, नागरिकहरूको जीउ–धनको रक्षा गर्न अब जनता आफैँले तयारी राख्नुपर्छ । त्यस बाटोमा हामी अगाडि बढ्नेछौँ र देशलाई सुरक्षित, लोकतान्त्रिक बाटोमा अगाडि बढाउनुपर्छ । कुनै पनि हालतमा हामी संविधान मासिने, संसद् मासिने, संसदमाथि बलजफती, थिचोमिचो हुन दिन सक्दैनौँ, दिँदैनौँ ।
त्यसकारण म सबै साथीहरू,दाजुभाइ, दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु र विशेषगरी देशभरिका तमाम युवाहरूलाई, नयाँ पिँढीलाई भन्छु– तपाईंहरूले धेरै बाँच्नुपर्छ । तपाईंहरू गम्भीर हुनुपर्छ । देश बर्बाद बनाइँदैछ । देशको अस्तित्व खतरामा छ । देशको अस्तित्व जोगाउन, देशलाई बर्बादीमा जान नदिन युवाहरू सचेतसँग अगाडि बढ्नुपर्दछ ।
भ्रष्टाचार विरोधी हाम्रो अभियान साझा अभियान हो । यो अभियान जारी रहनेछ । सुशासन हुनैपर्छ भन्ने हाम्रो अभियान साझा अभियान हो । म प्रधानमन्त्री हुँदा मैले शान्ति–सुव्यवस्था कायम गर्न खोजेँ । सुशासन कायम गर्न खोजेँ । भ्रष्टाचार नियन्त्रण गर्न खोजेँ । तर म एक्लो होइन । म एक्लै गरेर गर्न सक्दिनँ । भ्रष्टाचार अझै कायम छ — त्यसलाई नियन्त्रण गर्नुपर्दछ । मैले नारा दिएँ — म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ । मैले गरिनँ, अरूलाई पनि गर्न दिइनँ । थाहा पाएसम्म । मलाई खुसी लागेको थियो जेनजीहरूले भ्रष्टाचार नियन्त्रण र देशमा सुशासन माग्दा । मेरो अभियानमा ठूलो साथ पाएकोमा खुसी लागेको थियो । अब युवाहरूलाई साथ लिएर, युवा परिचालनबाट यी कामहरू अघि बढाउनुपर्छ भन्ने मैले सोचेँ । तर २३ गते एउटा अनौठो घटना भयो । म अहिले धेरै कुरा भन्न चाहन्नँ । तर २३ गतेको गोलीकाण्ड, २४ गतेको आगजनी, तोडफोड र लुटपाटका लागि आधार बनाइएको थियो । तयारी थियो; त्यसका लागि निहुँ बनाइयो ।
अनि व्याख्या यसरी गरियो — २३ गतेभन्दा अगाडि केपी ओलीको समर्थन थियो र ? के कारणले केपी ओलीको विरोध भयो यो देशमा ? कारण केही थिएन । देशभक्तिको पक्षमा, देशको भूमिको पक्षमा, देश विकासको पक्षमा, देशमा सुशासनको पक्षमा भएर केपी ओलीको विरोध भएको थियो । कमिसनखोरहरूको चित्त दुखेको थियो ।
अर्को, जेनजीले किन सामाजिक सञ्जाल बन्द गरियो भनेर माग गरे, विद्रोह र असन्तोष गरे । सामान्य कुरा हो, त्यो जेनजीले नबुझेका होला । तर हामीले बन्द गरेका थियौँ भन्ने होइन । डेढ वर्षभन्दा अगाडि देखि सामाजिक सञ्जालहरूलाई सबैलाई भन्दै थियौँ, नेपालमा कुनै व्यावसायिक क्रियाकलाप गरिन्छ भने नेपालमा त्यसको व्यवसाय दर्ता गरिनुपर्छ । यो एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो । देशको सार्वभौमसत्ता हेप्न पाइँदैन । यही भनिएको हो । म आफू हेपिन तयार हुन सक्छु, मलाई हेपेको सहन्छु तर मेरो देशलाई हेप्न पाइँदैन । मेरो देश हेपिएको सहन्नँ ।
मैले त्यही भनेको छु —दर्ता हुनुपर्छ । यो देशमा पैसा कमाउनेले कर तिर्नुपर्छ । कुम्लो पारेर अन्तै लिएर जाने चल्दैन । फेरि चल्दैन । यो देशमा सामाजिक सञ्जालहरू दर्ता गरिनुपर्छ । उनीहरूले कमाएको पैसाबाट कर यो देशमा तिर्नुपर्छ । कर तिर्न नपाउने ? यो देशमा कमाउनेले कर तिर्न नपर्ने ? हाम्रो न्याय यही हो ? हाम्रो राष्ट्रको स्वाभिमान यही हो ? यो हुँदैन ।
त्यसकारण स्वाभिमान नभएकाहरूले भड्काउने कुरा गरे । यो राष्ट्रिय स्वाभिमानको कुरा हो । दर्ता हुन्थ्यो, यस्तै तत्त्वहरूले भाँडेरे दर्ता नभएको हो । उचालेर दर्ता नभएको हो । नत्र कुन व्यावसायिक संस्थाले कुन देशमा गएर दर्ता गर्दैन ? कर तिर्दैन ? तिम्रो कानुन मान्दैन ? तिम्रो संविधान मान्दैन ? तिम्रो देश मान्दैन ? कसले भन्छ ? कसैले भन्दैन । तर यहीं भित्रबाट उचालियो । त्यसलाई पनि माध्यम बनाउन खोजियो । त्यस अर्थमा यो सबै अफवाह हो । हामी अफवाहको पछाडि कुद्नु हुँदैन ।
यतिबेला राष्ट्रलाई एकता चाहिएको छ । राष्ट्रलाई एकता चाहिएको छ । तर अहिलेको सरकार एकताको पक्षमा छैन — अनेकता, विभाजनको पक्षमा छ । यसबाट देश जोगाउनका लागि लोकतान्त्रिक शक्तिहरू एक ठाउँ मिल्नुपर्दछ र लोकतन्त्रको रक्षा मार्फत, सामाजिक न्याय र समानताको माध्यमबाट, शान्ति–सुव्यवस्था कायम गर्दै देशलाई “समृद्ध नेपाल, सुखी नेपाली” को बाटोमा अगाडि बढाउनुपर्दछ । म सबै साथीहरूलाई आग्रह गर्छु ।
यतिबेला राष्ट्रिय सहमति, समझदारी आवश्यक छ । जे भयो भयो— अब देशलाई संवैधानिक र लोकतान्त्रिक बाटोमा फर्काउन सरकार पनि तयार छ भने सरकारले त्यस सन्दर्भमा ठोस र सकारात्मक क्रियाकलाप देखाएर अगाडि बढ्नुपर्छ । तर सरकार उल्टो बाटो हिँडिरहेको छ । हामीलाई देशमा शान्ति–सुव्यवस्था चाहिएको छ, आतंक र अराजकता होइन । त्यसअर्थ, शान्ति–सुव्यवस्थाको बाटोमा देशलाई फर्काउनका लागि सबै अगाडि बढ्नुपर्दछ । वातावरण सकारात्मक र अनुकूल बनाउनु आवश्यक छ। यसका लागि पहिलो कुरा — लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा भएर लोकतन्त्रको पुनर्स्थापना गर्न अघि बढ्नुपर्छ ।
(नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार गरेको कार्यक्रममा ओलीले राखेको मन्तव्यको सम्पादित अशं)