विराटनगर / कोशी प्रदेश सरकार सोमबार पुनर्गठन हुने भएको छ। नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि नेपाली कम्युनिष्ट पार्टी (नेकपां) सरकारमा सहभागी हुन लागेको हो।
पार्टीले सरकारमा पठाउने चार मन्त्री र एक राज्यमन्त्रीको नाम अन्तिम रूप दिएको जनाएको छ। नेकपाका अनुसार मोरङका जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, इलामकी खिनु लङ्वा लिम्बूलाई वन, पर्यटन तथा वातावरण मन्त्रालय, सोलुखुम्बुका गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय तथा मोरङकी गीता तिम्सिनालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।
त्यसैगरी, सुनसरीकी सपना परियारलाई राज्यमन्त्री बनाउने निर्णय गरिएको छ। नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले सोमबार अपराह्न ३ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ। पार्टीभित्र मन्त्री बन्न इच्छुक सांसदको संख्या धेरै भएकाले उम्मेदवार छनोटमा केही ढिलाइ भएको थियो।
अन्ततः नेकपा कोशीका इन्चार्ज राजेन्द्र राई, संसदीय दलका नेता इन्द्र आङ्बो र प्रदेश अध्यक्ष हर्क नेम्वाङबीच भएको छलफलपछि मन्त्रीहरूको नाम टुंगो लगाइएको हो।






































