काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीहरूले लिने विश्वासको मतमा पक्ष वा विपक्षमा मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको छ।

बागमती प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार रहेको छ भने लुम्बिनी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार छ। दुवै प्रदेशका मुख्यमन्त्रीले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन्। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीले दुवै प्रदेशका प्रदेशसभा सदस्यलाई तटस्थ रहने निर्णय गर्दै त्यसअनुसार सम्बन्धित संसदीय दलका नेतालाई ह्विप जारी गर्न निर्देशन दिएको छ।

उनका अनुसार प्रदेश सरकार गठन तथा समर्थनसम्बन्धी विषयमा पार्टीले अर्को निर्णय नगरेसम्म राप्रपा तटस्थ रहने अध्यक्ष राजेन्द्र लिङ्देनको निर्देशन सम्बन्धित संसदीय दलका नेताहरूलाई पठाइएको छ। राप्रपाको यस निर्णयसँगै बागमती र लुम्बिनी प्रदेशमा विश्वासको मतका क्रममा पार्टीका सांसदहरूले न पक्षमा मतदान गर्नेछन्, न विपक्षमा।