विराटनगर / मोरङ जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूले कारागारभित्र गरिएको खानतलासीको विरोध गर्दै प्रदर्शन गरेका छन्।
खानतलासीका क्रममा प्रहरीले अनावश्यक दुःख दिएको आरोप लगाउँदै केही कैदीबन्दी कारागारको छतमा चढेर विरोधमा उत्रिएका हुन्। आज बिहान प्रमुख जिल्ला अधिकारी युवराज कटेलको नेतृत्वमा गएको सुरक्षा टोलीले कारागारको सुरक्षा व्यवस्थालाई थप कडा बनाउने उद्देश्यले खानतलासी गर्नुका साथै केही कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी गरेको थियो। यसको विरोधमा कैदीबन्दीहरूले कारागारको ‘बी’ ब्लकमा अवरोध सिर्जना गर्दै प्रदर्शन गरेका हुन्।
घटनापछि कारागार क्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ बनाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।






































