काठमाडौं / नेपाल वायु सेवा निगमका दुई कर्मचारीलाई तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा बोकेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार आइतबार काठमाडौंबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका उनीहरूलाई विमानस्थलमा जाँचका क्रममा नियन्त्रणमा लिइएको हो। विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी राजकुमार सिलवालले तोकिएको सीमा भन्दा बढी विदेशी मुद्रा फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए।

उनका अनुसार नेपालबाट बाहिर लैजान पाइने विदेशी मुद्राको निर्धारित सीमाभन्दा बढी रकम साथमा रहेको प्रारम्भिक रूपमा देखिएको छ। प्रहरीले पक्राउ परेका कर्मचारीहरूको परिचय सार्वजनिक गरेको छैन। उनीहरूमाथि थप सोधपुछ भइरहेको र अनुसन्धान पूरा भएपछि घटनाबारे विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।