बिर्तामोड ( नयाँ पत्रिका दैनिक बाट ) जडीबुटी सुकुम्बासी बस्तीमा बस्दै आएकी बाराकी पूर्णिमादेवी कर्णले १७ चैत ०७५ मा महिला लघुवित्त केन्द्र ९महिला अधिकार तथा विकास केन्द्र० मा एक लाख २० हजार कर्जा माग गरेकी थिइन् । नियमित कारोबार गरिरहेकी उनलाई ०७६ वैशाखमा एक लाख कर्जा स्वीकृत भएको भन्दै पहिलो किस्तामा विभिन्न शुल्क कटाएर करिब ७९ हजार रुपैयाँ दिइयो ।
बानेश्वर फुटपाथमा कस्मेटिक पसल गर्दै आएकी उनको परिवारले ११ महिनासम्म नियमित किस्ताबापत कुल एक लाख ३० हजार बुझाइन् । ०७६ चैतमा लागू भएको लकडाउनले अन्तिम एक किस्ता तिर्न ढिला भयो । तर, पछि बुझ्दा उनले कर्जा पाएकोभन्दा एक महिनाअगाडि नै एक लाख २० हजार कर्जा जारी भएको रहेछ । उनलेआफूले प्रयोग नै नगरेको रकमको किस्ता पनि लघुवित्तले कटाएको रहेछ । अझै उनको नाममा स्वीकृत भएको रकमबाट २० हजार कसले प्रयोग गर्यो, सहकारीले जानकारी दिन सकेन ।
संस्थाको डिल्ली बजार शाखामा बुझ्दा उनी झन् छक्क परिन् । उनको श्रीमानका नाममा समेत कुनै कर्मचारीले किर्ते गरेर २० हजार चलाइदिएका रहेछन् । ‘सुरुमै पैसा झिक्दासमेत मेरो किर्ते हस्ताक्षर भएको रहेछ,’ कर्णका श्रीमान् युगल किशोरले भने, ‘मेरो हस्ताक्षर र चलाउँदै नचलाएको २० हजार रुपैयाँका विषयमा डिल्ली बजारमा बुझ्न जाँदा कहिले साँगा त कहिले डिल्लीबजार भनेर झुलाइरहे ।’ अहिले उनले सो संस्थामा कारोबार त गर्न छाडिन् । तर, अझै पनि करिब ४० हजार रुपैयाँ संस्थाबाट नपाएको उनको गुनासो छ ।
भक्तपुर थिमीमा बस्दै आएकी मेलिना भोलोन तीन वर्षअघि महिला लघुवित्तको सदस्य बनिन् । कार्पेट बुन्ने काम गर्दै आएकी उनलाई ऋणको आवश्यकता नै परेन । पहिलो बैठकमै २१ सय बचत गरेकी उनले त्यसपछि मासिक एक हजारको दरमा बचत गर्न थालिन् । तर, केही समयपछि संस्थाको बैठक बस्न छाड्यो । बैठक नियमित नभएपछि उनलाई पनि लघुवित्तमा बस्ने मन भएन । त्यसपछि उनी जडीबुटीमा शाखामा आफ्नो बचत निकाल्न पुगिन् । त्यहाँ पुग्दा उनी अचम्म पर्ने घटना भयो । उनको नाममा संस्थाले ५० हजार कर्जा रहेछ । उनले आफूले कर्जा नलिएको बताएपछि संस्थाका कर्मचारीहरूले उनको नामसँग मिल्ने अर्को सदस्यलाई कर्जा लगानी भएको र सो व्यक्तिले कर्जा नतिर्दासम्म बचत फिर्ता नपाउने बताए ।
बचत निकाल्न प्रयारस गरेको तीन वर्ष बितिसक्यो, तर उनले बचत फिर्ता पाएकी छैनन् । ‘मेरै नामको अरू कसैले ऋण लिएको हो भने पनि उसको नागरिकतामा जन्मस्थान, बाबु वा पतिको नाम फरक हुन्न र,’ भोलोनले गुनासो गरिन्, ‘उनलाई भेटाइदिनु भन्दा कर्मचारीहरूले तपाईंले पिर गर्नुपर्दैन, त्यो सदस्यले ऋण तिरेपछि पैसा पाउनुहुन्छ भन्नुभयो, तर अहिलेसम्म त्यो ऋण चुक्ता नभएकै कारण मैले पैसा पाइनँ त रु’ संस्थाकै कर्मचारीहरूको मिलेमतोमा आफ्नो पैसा चलाएको उनको अनुमान छ ।
सस्थामा केही कर्मचारीहरूले एकजनाको नाममा लगानी देखाउने र त्यसमध्येको केही रकम झिकेर आफूखुसी चलाउने गर्दै आएको समेत फेला परेको छ । यस्तै पीडामा छिन्, ललितपुर ग्वार्को ठूलखर्ककी ५२ वर्षीया उर्मिला बानियाँ । ‘संस्थाले कहिले मेरी छोरी जापान जाँदा कर्जा लिएको भन्ने गरेको छ, कहिले पैसा तिरिसकेको छैन भन्दै लालपुर्जा नै बोकेर गएको छ,’ बानियाँले भनिन्, ‘नागरिकता अस्ति बल्ल छोराले गएर छुटाएर ल्यायो, लालपुर्जा भने अझै पाएको छैन ।’
०७३ सालदेखि नै कर्जा लिँदै र भुक्तानी गर्दै आइरहेकी बानियाँले अन्तिमपटक ३१ वैशाख ०७६ मा ७५ हजार रुपैयाँ लिइन् । तर, होटेल व्यवसाय गर्दै आएकी उनले लकडाउनका कारण होटेल नै बन्द भयो । मासिक किस्ता तिर्न सकिनन् । अहिले बिस्तारै किस्ता तिर्दै आइरहे पनि उनको घरको लालपुर्जा संस्थाले जफत गरेको छ । तर, जडीबुटी शाखामातहत नै लगानी भएको कौशलटार केन्द्रका सदस्यहरूले भने लाखौँ कर्जा नतिर्दा पनि राहतमै देखिन्छन् ।
‘मैले लघुवित्त संस्थाकै कर्मचारीहरूको स्वीकृतिमा यही केन्द्रकै अन्य साथीहरूलाई मेरो नामबाट कर्जा लिन दिएकी हुँ,’ संस्थाको कौशलटार केन्द्रकी एक सदस्यले भनिन्, ‘अहिले पनि मलाई कर्जा तिर्न भन्दै ६ महिनामा एकपटक फोन सम्पर्क गर्नुहुन्छ, तर उनीहरूकै स्वीकृतिमा कर्जा दिएकीले मैले उल्टै गाली गर्ने गरेकी छु ।’ उनका अनुसार एकै सदस्यले अन्य १० जनाको नामबाट कर्जा झिकेर चलाएकी छिन् ।
कौशलटार केन्द्रमा १४ सदस्यसँग मात्रै संस्थाले ब्याजसहित १८ लाख ९७ हजार असुल गर्न बाँकी रहेको जडीबुटी शाखाकी कर्मचारी विपना न्यौपानेले बताइन् । ‘सदस्यहरू आफू–आफू मिल्ने, पैसा झिक्ने र मिटर ब्याजमा लगाउने गरेका रहेछन्, यही कारण त्यहाँ लगानी फस्यो,’ न्यौपानेले भनिन्, ‘हामीलाई यो सब थाहा हुने कुरा पनि भएन ।’ तर, संस्थाले यसरी एउटा सदस्यबाट बिग्रेको कर्जा अन्य सदस्यहरूको नाममा किर्ते कर्जा जारी गरेर मिलाउने गरेको प्रमाण फेला पारेको छ । सो समय जडीबुटी शाखाबाट कर्जा लगानी गर्ने कर्मचारीहरूमा विपना न्यौपाने, रञ्जना अधिकारी, रेवती रावल र प्रमाणित गर्नेमा ममिला पौडेल रहेका छन् । यस विषयमा संस्थासँग बुझ्दा तत्काललाई आन्तरिक रूपमै यसलाई मिलाइरहेको बताएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले भने, ‘सबै महिलाका कुरा विश्वसनीय पनि हुँदैनन्, उनीहरूको अवस्था हेरेर मात्र विषय नबुझ्नुहोला, हामी कतिपय कुरा यही मिलाउँदै पनि छौँ ।’ ग्वार्को भुसाल बस्तीका धेरैले पनि संस्थाबाट आफूहरू पीडित भएको बताइरहेका छन् ।
राष्ट्र बैंकले यसबीच संस्थाको दुईपटकसम्म नियमन गरेको भए पनि त्यस्तो नभेटिएको उल्लेख गरेको छ । ‘हामीले जडीबुटी शाखामा गएर कार्यालयमै कुरा बुझेका थियौँ,’ पहिलोपटक निरीक्षणमा गएका एक अधिकृतले भने, ‘कर्मचारीले किर्ते नै गरेको भन्ने हामीलाई लागेन ।’ दोस्रोपटकको निरीक्षणमा गएका अर्का अधिकारीले भने संस्थाको अन्य शाखाको निरीक्षण भएको र यदि पीडितहरूलाई समस्या छ भने राष्ट्र बैंकको गुनासो सुनुवाइ समितिमा गुनासो राख्न सुझाब दिएका छन् ।