बिर्तामोड / संघीय सरकारको सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले नै संविधान दिवसको अवसरमा सरकारले आयोजना गरेको विषेश कार्यक्रम बहिष्कार गरेका छन् । सत्तारुढ दल जसपा र प्रमुख प्रतिपक्षी दल एमाले सहित अर्को मधेशवादी दल लोसपाले सरकारले आयोजना गरेको विषेश कार्यक्रम बहिष्कार गरेका हुन् ।

सरकारले काठमाण्डौको टुँडिखेलमा संविधान दिवसको अवसर पारेर विषेश समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति , प्रधानमन्त्री , प्रधानन्यायाधीश , सभामुख र राष्ट्रिय सभाका अध्यक्ष सहित सहभागि बनेका छन् ।

OM Sai Pathibhara Hospital

तर समारोहमा सत्तारुढ पाँच दलीय गठबन्धनको जसपा , प्रमुख प्रतिपक्षी एमाले र लोसपाका नेताहरू अनुपस्थित भएका छन् । आफ्नो पार्टी नेतृत्वको सरकार सर्वोच्चको आदेशमा ढलेपछि सत्तारुढ दलको विपक्षमा उभिदै आएको एमालेले आजको विषेश समारोह वहिस्कार गरेपछि राजनीतिक वृत्तमा त्यसलाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ ।

संविधान मिचेर पटक–पटक संसद् विघटन गरेको अनि आफ्ना पार्टीका नेतालाई संघीयता र धर्म निरपेक्षताको विरोधमा बोल्न लगाएर एमालेले आफ्नो दललाई संविधानका विपक्षमा उभ्याउन थालेको आरोप लागिरहेका बेला भएको बहिष्कारलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

एमालेले सहितका ठूला दलले नै संविधान दिवसका अवसरमा आयोजित कार्यक्रम बहिष्कार गरेपछि यो विषयलाई संविधान विरोधीहरूले आफ्नो पक्षमा जनमत बढ्न थालेको अर्थमा लिएका छन् ।

सत्तारुढ अर्को दल जसपा पनि संविधान अनुसार बनेको सरकारमा पटक–पटक सहभागि बनेको छ । यतिबेला आफ्नै दल सम्मिलित पाँच दलको गठबन्धन सरकार रहेको छ । प्रदेश २ मा पनि आफ्नै पार्टीको नेतृत्वमा सरकार रहेको छ । सत्तारुढ दलले नै सरकारी निर्णय र घोषणाको विपक्षमा आफूलाई उभ्याएको विषयलाई समेत राजनीतिज्ञले फरक रुपमा हेर्न थालेका छन् ।

लोसपा समेत सत्तारुढ गठबन्धनमा नरहे पनि सरकारका पक्षमा संसद्मा मतदान गर्ने दल हो । लोसपाले समेत संविधान दिवसका अवसरमा आयोजित कार्यक्रम बहिष्कार गरेको छ ।

एमालेको अनुपस्थितिको विषयमा अनेकौँ आरोप लाग्न थालेपछि नेता शेर बहादुर तामाङले आफ्नो दललाई सरकारले नबोलाएकाले उपस्थित नभएको झुटो दावी गरेका छन् । उनले सरकारको निमन्त्रणा नआएको र आफ्नो दलको अन्यत्र कार्यक्रम तय भएकाले अनुपस्थित हुन गएको जिकिर गरेका छन् ।

जसपा र लोसपाले भने संविधानमा परिवर्तन आवश्यक रहेको जनाएका छन् । ति दुई दलले कालो दिनका रुपमा मनाउने निर्णय गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि केही दिन यता संविधानमा नरहेको कार्यकारी प्रमुख रहने व्यवस्थाका लागि आन्दोलनमा जान सक्ने बताउँदै आएका छन् । उनले केही दिन यता आफ्ना पार्टीका कार्यक्रममा बोल्ने क्रममा संविधानमा परिवर्तन आवश्यक रहेको बताउने गरेका छन् ।

सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल सहितका अन्य दलको बहिष्कारका बिच सरकारले संविधान मनाइरहेको भएपनि संविधानका विपक्षमा क्रमश जनमत बढ्दै गएको देखिन थालेको छ । विप्लव सहितका साना दल र ठूला दल नै समेत विपक्षमा उभिन थालेपछि संविधानको विरोधमा उभिदै आएका राजसंस्था र हिन्दु राष्ट्र पक्षधर समेत हौसिन थालेका छन् ।

सरकारले टुँडिखेलमा भव्य समारोहका बिच संविधान दिवस मनाईरहँदा राजसंस्था र हिन्दु राष्ट्रका पक्षधरले काठमाण्डौको माईतिघरमा नै वृहत शक्ति प्रर्दशनको तयारी गरीरहेका छन् । संविधान माथि चौतर्फि रुपमा प्रश्न उठ्न थालको विषयलाई राजनीतिक दलले समयमा नै संवोधन गर्न नसक्ने हो भने ठुलो त्याग अनि वलिदानबाट प्राप्त भएका उपलब्धि नै गुम्ने खतरा रहने छ ,।