देउखुरी / थारू समुदायले  ‘अट्वारी पर्व’ आज  धुमधामका साथ मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने ती  समुदायले माघीपछिको ठूलो पर्वका रुपमा यसलाई मनाउने गर्दछन् । 

धार्मिक एवं सांस्कृतिक महत्व बोकेको सो पर्व तीजपछिको पहिलो आइतबारमा व्रत बस्ने र सोमबार सकिने गर्दछ । 

OM Sai Pathibhara Hospital

थारू सस्ंकृतिविद् अशोक थारूका अनुसार उनीहरुले पर्वको पहिलो रात दर (भिन्स¥या भाट) खाने गर्दछन् ।  दरमा भात, माछा चोखो तरिकाले पकाइन्छ र भाले नबास्दै उठेर दर खाने प्रचलन छ । यसपछिको दोस्रो दिन प्रायः पुरुष र इच्छा भएका महिला व्रत बस्छन् । 

उनले भने,“ दिउँसो पुरुष बर्तालु नुहाइधुवाई गरेर चामलको पिठोको ‘ठोप्वा’ गोलो आकारको रोटी पकाउँछन् । रोटी पकाउने ठाउँलाई गोबरले लिपेर चोखो बनाइएको हुन्छ । सबैभन्दा पहिले पकाइएको रोटी आकारमा अरु रोटीभन्दा ठूलो हुन्छ । पहिलो रोटी थारू लोकविश्वासअनुसार भीम (पाण्डुका माइला पुत्र)का लागि भनेर छुट्टै राखिन्छ । साँझ सबै बर्तालुहरु गोबरले लिपेका ठाउँमा बस्छन् । बीचमा आगो र लोटामा पानी राखिन्छ ।”

टपरीमा रोटी, काँक्रो, केरालगायत अन्य फलफूल, दही, घ्यू राखिन्छ । बर्तालुले आफ्नो टपरीबाट सबै खानेकुरा अग्नि देवतालाई चढाउँछन् । यसपछि एक दुना टपरीबाट अर्को दुना टपरीमा खानेकुरा अलिअलि निकाल्छन् । सस्ंकृतिविद् थारूका अनुसार यसरी खानुभन्दा पहिला निकालेको खानेकुरालाई ‘अग्रासन’ भनिन्छ । 

“अट्वारीको दोस्रो दिन बिहानै नुहाइधुवाई गरेर बर्तालुहरू खाना पकाउन थाल्छन् । खानाका लागि तीन, पाँच अथवा सात प्रकारको तरकारी पकाइन्छ । यसमा पवैको साग सिल्टुङ, पाप्रो, चिचिण्डो अनिवार्य हुनुपर्छ । अन्य मौसमी तरकारी भए पनि राम्रो मानिन्छ । खाना पकाइसकेपछि सबै बर्तालु लिपेको चोखो ठाउँमा बस्छन् । आफनो टपरी र दुनाबाट अलिअलि खाना झिकेर अग्निलाई चढाउँछन् । ” उनले भने । 

छुट्टै दुना, टपरीमा केही अंश छुट्याएर राख्छन् । त्सपछि आफू खान्छन् । साँझ निकालिएको खानेकुरा र बिहानको खाना ‘अग्रासन’ आफ्ना दिदीबहिनीलाई दिन जान्छन् । आफूले खाने खाना साकाहारी भए पनि दिदीबहिनीलाई दिन जाँदा माछा, मासु पकाएर दिने चलन छ । चेलीबेटी अग्रासन आउने दिन हर्षित हुन्छन् । माइतीबाट दिन आउने अग्रासनको प्रतीक्षामा खाना नखाई बस्छन् ।

यो अग्रासनले माइतीको माया, पे्रम र सद्भावलाई दर्शाउँछ । ‘अग्रासन’ले पराइघर बसेकी चेलीको प्रेमलाई छर्लङ्ग पार्दछ । दाजुभाइ दिदीबहिनीको प्रेमको प्रतीक हो ।