गोरखा / नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा चिनिने गोरखाको मनकामना मन्दिर करिब चार महिनापछि आजदेखि खुलेको छ । 

कोभिड –१९ को सङ्क्रमणको जोखिमका कारण गत वैशाख २३ गतेदेखि पूजाआजा गर्न रोक लगाइएको मनकामना मन्दिर भक्तजनका लागि पूजा गर्न खुला गरिएको मन्दिरका मूल पुजारी इन्सान बहादुर थापामगरले जानकारी दिए।

OM Sai Pathibhara Hospital

मनकामना क्षेत्र विकास समितिले मन्दिरमा सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्ने गरी सर्वसाधारणका लागीसमेत पूजाआजा गर्न मन्दिर खोल्ने निर्णय गरेसँगै आजदेखि मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको उनले बताए । 

“आज बिहान नियमितरूपमा गरिने नित्यपूजा गरेर सर्वसाधारणलाई पनि पूजाआजाका लागि मन्दिरमा प्रवेश गराइएको छ, मूलपुजारी थापाले भने, “पुजारी र भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तत्कालका लागि मन्दिर बाहिरको झ्यालबाट पूजा सामग्री पुजारीलाई दिने गरी व्यवस्था मिलाइएको छ ।”
   
मन्दिरमा भाकल बुझाउन आउने भक्तजनका लागि बलि दिने स्थानमा समेत छुट्टै पुजारीको व्यवस्था मिलाइको उनले बताए । चार महिनापछि मन्दिर खुल्ला भएको पहिलो दिनमै सयौँ भक्तजन पूजापाठका लागि आएको मूलपुजारी थापाले जानकारी दिए । 

मन्दिरमा पुग्ने भक्तजनले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने लगायतका व्यवस्थासमेत गरिएको उनको भनाइ छ ।

यता मन्दिर परिसरमा पुग्ने भक्तजनको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी मन्दिर परिसरमै हेल्थ डेस्कसमेत स्थापना गर्ने तयारी गरिएको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए । 

यसैबीच कोरोना सङ्क्रमणको जोखिमका कारण बन्द रहेको गोरखाको अर्को प्रसिद्ध धार्मिक गन्तव्यको रूपमा चिनिने गोरखा दरबारस्थित कालिका मन्दिर पनि आजदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।