काठमाडौँ / प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रु १९ करोड बढी रकमको चेकसहित एक मिटर ब्याजीलाई पक्राउ गरेको छ । दोलखाको मेलुङ घर भई हाल ललितपुरको भैँसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई काठमाडौँको चाबहिलबाट प्रहरीले पक्राउ गरेको हो ।
दोलखा घर भई भक्तपुर बस्ने प्रकाश कार्की र रामेछाप घर भई काठमाडौँ बस्ने हेमरा गुभाजुले लिएको ऋणमा उनले चर्को मिटरब्याज लगाएका थिए । प्रकाशबाट पटकपटक गरी रु चार करोड १६ लाख रकमको चेक र हेमराज गुभाजुबाट रु चार करोड १४ लाखको चेक लिई रकम दिन मानसिक दबाब दिँदै आएको खुलेको छ ।
उनले पीडितलाई त्रासमा पारी बाहिर हिँड्डुल र घुमफिर गर्नसमेत बन्देज गराई आपराधिक गिरोहसमेतको प्रयोग गरी ज्यान मार्नेसम्मको धम्की दिएको भन्ने जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । उनको साथबाट विभिन्न व्यक्तिका नाममा रहेको रु १९ करोड ४३ लाख ६१ हजार ८६० बराबरको चेकसमेत बरामद गरिएको छ । प्रतिवादीले अन्य व्यक्तिसमेतलाई चर्को मिटर ब्याजमा रकम दिने गरेको अनुसन्धानमा खुलेको छ ।