बिर्तामोड / स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईको बहुचर्चित मार्सी वियर उत्पादन योजना सञ्चालक बिचको विवादका कारण उल्झनमा फसेको छ । हेटौँडा औद्योगिक क्षेत्र भित्र रहेको टाइगर्स वियरको ५० प्रतिशत सेयर खरिद गरी मार्सी वियर उत्पादनमा अग्रसर बनेका प्रसाईलाई आफ्ना व्यवसायीक साझेदारको मृत्युले समस्यामा पारिदिएको हो ।
गत कार्तिकमा टाइगर्सको कुल मुल्यांकन २ अर्ब रुपैयाँ मानेर आधा सेयर खरिद गरी प्रसाईले मार्सी वियर उत्पादनको काम अघि बडाएका थिए । टाइगर्सका संचालक तेजेन्द्र खड्काको आधा सेयर खरीद गरेका प्रसाईले उनको मृत्यु पश्चात सेयर फिर्ता गर्नुपर्ने अवस्था आएको हो । उनको परिवारका सदस्यसंगको खटपटका कारण प्रसाई बाहिरीने अवस्था आएको उद्योग व्यवस्थापन निकट स्रोतले जानकारी दिएको छ ।
मार्सी वियरको उत्पादन सुरु भएपछि प्रसाई बाहिरीने भएपनि टाइगर्सले भने मार्सी वियर उत्पादन नगर्ने समझदारी भएको छ । मार्सी वियरको उत्पादन नगरी खड्का परिवारले प्रसाईको स्थानमा आफ्नो उद्योगका पुराना साझेदार भारतीय व्यवसायी प्रिन्स वात्रालाई पुन भित्राउने भएका छन् । वात्रा आउने भएपछि उद्योगमा प्रसाईले गरेको लगानी फिर्ता दिने तयारी भएको खड्का परिवार निकट स्रोतले जानकारी गराएको छ ।
कोरोनाका कारण उद्योग संचालक तेजेन्द्र खड्का, उनकि सृमति र दुइजना भाइको समेत मृत्यु भएपछि प्रसाईको बहुचर्चित मार्सी वियर योजना अलपत्र परेको हो । उनिहरुको मृत्यु पछि तेजेन्द्रका छोरा छोरीले उद्योग हेर्न थालेका थिए । उनिहरुसंगकै खटपटले प्रसाई बाहिरीन लागेको उद्योग स्रोतको भनाइ छ ।
प्रसाईले सार्वजनिक रुपमा मार्सी वियर उत्पादन योजनाबाट आफू पछि हटेको भने बताएका छैनन् । उनले आफू निकटलाई भने आफ्ना साझेदार खड्काको निधन पछि उद्योग उनका छोराछोरीलाई जिम्मा लगाउने अवस्था आएको बताउन थालेका छन् । टाइगर्स संग मार्सी उत्पादन आफैले गर्ने समझदारी गरी प्रसाई बाहिरिएकाले उनि नयाँ उद्योग स्थापनाको तयारीमा जुटेको अनुमान गर्न थालिएको छ ।
अर्बौँ रुपैयाँको लगानीमा झापाको बिर्तामोडमा स्थापना गरेको प्रस्तावित बि एण्ड सी मेडिकल कलेजले अनुमति नपाएर आर्थिक संकट संग जुधिरहेका बेला प्रसाईले अर्को ठूलो योजनाबाट पछि हट्नुपरेको छ ।