पर्वत
/ पहिरोका कारण शुक्रबार रातिदेखि अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड
सञ्चालनमा आएको छ । कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा वर्षासँगै
सडकमाथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो । वर्षा रोकिएसँगै पहिरो
पन्छाइएपछि सवारीसाधन सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्णबहादुर
खड्काले जानकारी दिएका छन् । अहिले रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् ।
लगातारको
वर्षाका कारण राति नै पहिरो आएर सडक पुरिएको थियो । वर्षा रोकिएपछि बिहान सबेरैबाट
एस्काभेटर लगाएर पहिरो पन्छाइएको खड्काले जानकारी दिएका छन् । यस वर्ष मध्यपहाडी
लोकमार्गअन्तर्गत पर्वत खण्डमा पहिरोले बढी नै असर गरेको छ । सहस्रधारा नजिकै नयाँ
पुलमा केही दिन अगाडि भिमकाय ढुङ्गासहित खसेको पहिरो पन्छाउन एक साता लागेको थियो
। ब्रेकरले ढुङ्गा फुटाउन नसक्ने भएपछि नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर
ढुङ्गा फुटाएको थियो ।
कुश्मा–८ चुवास्थित दोबिल्लामा पनि सुन्दरे खोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गकै केही भाग क्षति गरेको थियो । बाढीले लोकमार्गकै ठेक्का लिएको लामा कन्स्ट्रक्सनको हाइलक्स गाडीसहित त्यसमा सवार इञ्जिनीयर र चालक बगाएर बेपत्ता बनाएको थियो । गाडी नजिकैको मोदी खोलामा पुगेको अवस्थामा भेटिएको भए पनि ती दुई व्यक्तिको अवस्था भने अज्ञात नै छ।