महोत्तरी / महोत्तरीको भङ्गाहा नगरपालिकामा नगरप्रमुखकै घरमा नगर कार्यपालिकाको कार्यालय सञ्चालन भएको छ। भङ्गाहा५ सीतापुरमा नवनिर्मित आफ्नो निजी पक्की घर नगरप्रमुख सञ्जिवकुमार साहले कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएका हुन्।

नगरप्रमुख साहले नगरपालिकाको कार्यालय भवन नबनुञ्जेलसम्म घरभाडा नलिने गरी कार्यालय सञ्चालन गर्न नयाँ भवन उपलब्ध गराउनुभएको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले जानकारी दिएका छन् । नगरप्रमुख साहले लिखित सम्झौता गरेरै भवन उपलब्ध गराउनु भएपछि नयाँ आर्थिक वर्ष प्रारम्भसँगै कार्यालय सारिएको छ”, जोशी भन्छन्, “ अब मासिक ६० हजार बचत हुने भयो ।

OM Sai Pathibhara Hospital

नगरपालिकाको आफ्नै भवन नहुँदा यसअघि सीतापुरमै मासिक ६० हजार लाग्ने भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको थियो । नगरप्रमुख साहले आफू बसोबासका लागि अर्को घर रहेको हुँदा नवनिर्मित भवन कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएको बताएका छन्। नयाँ आव २०७८/०७९ भित्र भवन निर्माण भइसक्ने साहको भनाइ छ । पक्की घरमा २० भन्दा बढी कोठा छन् ।