काठमाडौँ / कोभिड–१९ का बिरामीको उपचार गर्दै बिरामीको भरोसाको केन्द्र बन्दै आएको भक्तपुर अस्पतालमा अक्सिजन अभाव हुँदा शय्या सञ्चालनमा समस्या परेको छ । अक्सिजन कम्पनीहरुले सरकारले तोकेको कोटा बराबर पनि अक्सिजन नदिंदा र अक्सिजनको खपत बढी हुँदा अस्पतालले निकै समस्या झेल्नु परेको बताइएको छ । 

अस्पतालले कोभिडका बिरामीका लागि ८० शय्या छुट्याए पनि अहिले ५० जना बिरामीको उपचार भइरहेको छ । अस्पतालका लागि दैनिक २०० सिलिण्डर अक्सिजन आवश्यकता भए पनि दैनिक ९० सिलिण्डर पाउन पनि मुश्किल परेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डन्ट डा.सुमित्रा गौतमले बताए । भेन्टिलेटरमा रहेका बिरामीलाई तीब्र गतिमा अक्सिजन दिनुपर्दा एक बिरामीका लागि २४ घण्टामा पाँच सिलिण्डर अक्सिजन सकिने तर अक्सिजनको आपूर्ति भने कम हुँदा समस्या आएको अस्पतालको भनाइ छ ।

OM Sai Pathibhara Hospital

भक्तपुर अस्पतालका लागि सरकारले कान्तिपुर उद्योगसँग दैनिक ४०, सोपन उद्योगसँग दैनिक ३० र सगरमाथा उद्योगसँग दैनिक ५० सिलिण्डर अक्सिजन उपलब्ध गराउने गरी कोटा निर्धारण गरेपनि ती उद्योगले तोकेको भन्दा ५० प्रतिशत कम अक्सिजन उपलब्ध गराउने गरेका छन् । सगरमाथाले दुई दिन नदिएको र अधिकांशले अक्सिजन नै पुग्दैन भनेर कम दिने गरेका छन् । अस्पतालले विगतमा जनकपुर, निजगढ, ककनीदेखि पनि अक्सिजन ल्याएकामा अहिले ती ठाउँबाट पनि अक्सिजन आउन छाडेका छन् ।

निःशुल्क सेवा दिदै आएको सरकारी अस्पताललाई भन्दा निजी अस्पताललाई अक्सिजन उद्योगहरुले तोकिएको कोटाभन्दा बढी अक्सिजन दिने गरेको पाइएको छ । एक निजी अस्पतालका सञ्चालकले उद्योगहरुलाई बढी पैसा तिरेर अक्सिजन ल्याउने गरेको बताएका छन् । निजीले बढी पैसा दिने भएकाले अक्सिजन उद्योगहरुले सरकारीलाई भन्दा निजी अस्पताललाई निर्धारित कोटाभन्दा बढी अक्सिजन दिने गरेको निजी अस्पताल सञ्चालकहरुकै भनाइ छ ।

भक्तपुर अस्पतालकी मेसु डा गौतमले पनि सरकारीलाई भन्दा निजी अस्पताललाई अक्सिजन उद्योगहरुले प्राथमिकतामा राखेकाले नै सरकारी अस्पतालले सरकारले निर्धारण गरेको कोटा बराबर पनि अक्सिजन नपाएको बताएका छन् । अहिले भक्तपुर अस्पतालमा ज्वरो र कोभिडको लक्षण भएकाहरुका लागि सञ्चालन गरेको ओपिडी सेवामा मात्रै दैनिक १७० देखि २०० सम्म बिरामी आउने गरेका छन् । ठाउँ अभाव, उपकरण अभावले अस्पतालले पर्याप्त आइसियू सञ्चालन गर्न सकेको छैन । 

यस अस्पतालमा जम्मा छ शय्याको आइसियू, ४० शय्या हाइकेयर युनिट, आकस्मिक कक्ष र टेण्डमा समेत शय्या राखेर ८० जना कोभिडका विरामीको उपचार गर्दै आए पनि अक्सिजन अभावमा सबै शय्या चलाउन अहिले समस्या आएको मेसु डा। गौतमले जानकारी दिए । उनले भने, “अस्पतालमा अक्सिजन छैन, सबै बिरामीलाई अक्सिजन दिनु पर्छ, बिरामीको ज्यान जोखिममा पार्न पनि सकिदैन, अक्सिजन नहुँदा कुनै दुर्घटना नहोस् भनेर सचेत छौँ, सरकारले अक्सिजनको सहज व्यवस्था गरिदिए हामी आफ्नो ज्यान जोखिममा राखेर पनि बिरामी बचाउन अझै काम गर्छौं ।”

सरकारले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउने भने पनि ढिलो हुने भएकाले तत्कालको व्यवस्थापनमा पनि जोड दिनु पर्नेछ । यस सरकारले अक्सिजन प्लान्टका लागि रु दुई करोड बजेटको व्यवस्था गरेको छ । यसबाट उत्पादन हुने अक्सिजनले आइसियूलाई मात्रै थेग्न सक्ने उनको भनाइ छ । अक्सिजन कहिले उत्पादन हुने, प्लान्ट कहिले राख्ने प्रक्रिया लामो भएकाले अहिलेका लागि अक्सिजन पर्याप्त व्यवस्था हुन सके स्वास्थयकर्मीको टोलीलाई उपचारमा थप आँट आउने डा गौतम बताउछन् ।

अक्सिजन वितरणमा लागू गरेको कोटा प्रणालीलाई प्रभावकारी कार्यान्वयनका लागि सरकारले सुरक्षाकर्मीलाई जिम्म दिनु पर्ने अस्पताल सञ्चालकहरु बताउँछन् । अक्सिजन कम्पनीले कालो बजारी गरेर केही निजी अस्पताललाई मागे जति दिने र अरुलाई सरकारले तोकेको कोटाअनुसार पनि नदिने गरेको अस्पताल सञ्चालकहरुको गुनासो छ । 

सबै अक्सिजन कम्पनीमा नेपाली सेना वा सशस्त्र प्रहरीको टोली परिचालन गरी सरकारले तोकेको कोटाअनुसार अक्सिजन वितरण गर्ने व्यवस्था गरे सरकारी अस्पतालमा अहिले देखिएको अक्सिजन अभावको समस्या ७० प्रतिशत हल हुने अस्पताल सञ्चालकहरुको भनाइ छ ।

अस्पतालमा आएको बिरामीको चाप हेर्दा अझै आइसियू र जनरल शय्या थप्नु पर्ने, कम्तीमा १० शय्याको भेन्टिलेटर, उपकरण, जनशक्ति र औषधि थप गर्नुपर्ने आवश्यकता छ । भक्तपुर क्षेत्र नं। २ का सांसद महेश बस्नेतले दुई दिनअघि दुई कन्सन्ट्रेटर मेसिन र २० सिलिण्डर अक्सिजन दिएको बताउँदै उहाँले निःशुल्क उपचार गर्दै आएको यो अस्पतालमा आएका बिरामीलाई उपचार नगरी फर्काउनु पर्ने अवस्था आउन नदिन सहयोग गर्न उनले आह्वान गरे।