हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले मंगलबार सामूहिक रूपमा राजीनामा दिएका छन्। पार्टीको केन्द्रीय निर्देशनअनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाइएसँगै एमालेले सरकारसँगको सत्ता सहकार्य औपचारिक रूपमा अन्त्य गरेको हो।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइएको जानकारी दिएका छन्। उनले संविधानको धारा १६८९२० बमोजिम बदलिएको राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै समर्थन फिर्ता लिइएको उल्लेख गरेका छन्।

राजीनामा दिने मन्त्रीहरूमा मधुसुदन पौडेल, डा. दिनेशचन्द्र देवकोटा, जयराम थापा, भरतबहादुर केसी, किरण थापा र बिन्दु श्रेष्ठ रहेका छन्। उनीहरू बागमती सरकारका विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका थिए।

एमालेका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारहरूमा नयाँ सत्ता सहकार्यबारे भएको छलफलपछि पार्टी नेतृत्वले सरकारबाट बाहिरिन निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन्।

साउन २०८१ देखि नेपाली कांग्रेस र एमालेको संयुक्त नेतृत्वमा सञ्चालन हुँदै आएको बागमती सरकार करिब दुई वर्षपछि नयाँ मोडमा पुगेको छ। एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ अब प्रदेशसभामा अल्पमतमा परेका छन्।

संविधानअनुसार मुख्यमन्त्री बानियाँले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ। विश्वासको मत प्राप्त गर्न नसके बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएकाले प्रदेशको राजनीति थप तरल बन्ने संकेत देखिएको छ।