सर्लाही। सर्लाहीमा मिटरब्याजको विवाद फेरि हिंसात्मक बनेको छ। ऋण चुक्ता गरिसकेको दाबी गर्ने एक परिवारमाथि सामूहिक आक्रमण भएको आरोप लागेको छ। घटनामा एकै परिवारका चार जना घाइते भएका छन् भने पीडित पक्षले न्यायको माग गरेको छ। 

 मिटरब्याजसँग जोडिएको पुरानो विवादले सर्लाहीमा फेरि हिंसात्मक रूप लिएको छ। बसबरिया गाउँपालिका–२ निवासी इन्दल सहनी र उनका परिवारमाथि कुटपिट भएको घटनाले स्थानीय क्षेत्रमा तनाव सिर्जना गरेको छ।

घटनामा इन्दल सहनी, उनका दुई छोरा र श्रीमती गरी एकै परिवारका चार जना घाइते भएका छन्। उनीहरूको बरहथवास्थित अस्पतालमा उपचार भइरहेको छ।पीडित परिवारका अनुसार केही वर्षअघि उनीहरूले ८ लाख रुपैयाँ ऋण लिँदा धितोका रूपमा २६ कठ्ठा जग्गा राजीनामा पास गरेका थिए। मौखिक सहमतिअनुसार साँवा–ब्याज बुझाएपछि जग्गा फिर्ता गर्ने समझदारी भएको उनीहरूको दाबी छ।

सहनी परिवारले सुरुमा ६ लाख रुपैयाँ र त्यसपछि पटक–पटक गरी करिब १०–११ लाख रुपैयाँ तिरिसकेको बताएको छ। वडा कार्यालयमा पनि जग्गा फिर्ता गर्ने सहमति भएको दाबी गरिए पनि त्यसअघि नै साहु लक्ष्मी कुर्मी राउतको निधन भएको पीडित पक्षको भनाइ छ।त्यसपछि उनका छोरा बिलास शाहले विवादित जग्गा अर्को व्यक्तिको नाममा बिक्री गरिदिएको आरोप लगाइएको छ। यद्यपि, पछिल्लो १० वर्षदेखि सो जग्गा सहनी परिवारले नै जोतभोग गर्दै आएको बताइएको छ।

पीडितका अनुसार हालै जग्गामा जबर्जस्ती धान रोप्ने प्रयास भएपछि त्यसको विरोध गर्दा विशाल शाहको नेतृत्वमा आएको समूहले इन्दल सहनी र उनका परिवारमाथि कुटपिट गरेको हो। घटनामा विशेषर शाह, लक्ष्मण शाह, जगदीश शाह, रामप्रवेश शाहलगायतको संलग्नता रहेको आरोप पनि पीडित पक्षले लगाएको छ। विशेष कुरा के भने, घाइते इन्दल सहनी ‘मिटरब्याज विरुद्ध पैदल न्याय मार्च’ मा सहभागी आन्दोलनकारीसमेत हुन्। आन्दोलनबाट घर फर्किएलगत्तै आफूहरूमाथि आक्रमण भएको भन्दै उनले दोषीमाथि कडा कारबाही र आफ्नो जग्गा फिर्ता गराउन सरकारसँग माग गरेका छन्।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ भने आरोपित पक्षको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ। मिटरब्याजको समस्या समाधानका लागि सरकारले विभिन्न पहल गरिरहेको दाबी गरिए पनि यस्ता घटना दोहोरिनु चुनौतीकै रूपमा देखिएको छ। अब यो घटनामा अनुसन्धानले के निष्कर्ष निकाल्छ र पीडितले कहिले न्याय पाउँछन् भन्ने विषयमा सबैको चासो केन्द्रित भएको छ।