काठमाडौं। नेपाली लोकतान्त्रिक आन्दोलनका प्रमुख अभियन्ता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। तर, बीपीले जीवनभर जोड दिएको राष्ट्रिय एकता र मेलमिलापको सन्देश स्मरण गरिरहँदा कांग्रेस भने आन्तरिक रूपमा अझै विभाजित देखिएको छ। संस्थापन र इतर पक्षले छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्दै स्मृति दिवस मनाइरहेका छन्।

नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता, प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको ४४औँ स्मृति दिवस बुधबार देशभर श्रद्धापूर्वक मनाइँदैछ। राजनीतिक दल, शुभेच्छुक संस्था र सर्वसाधारणले बीपीको योगदान स्मरण गर्दै विभिन्न कार्यक्रम आयोजना गरेका छन्।

वि.सं. १९७१ साल भदौ २४ गते जन्मिएका बीपी कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो। उनले नेपालमा प्रजातन्त्र, राष्ट्रियता र समाजवादलाई संस्थागत गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। २०१५ सालको पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेसलाई दुईतिहाइ बहुमत दिलाउँदै उनी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए।

प्रधानमन्त्रीका रूपमा उनले बिर्ता उन्मूलन र ’जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने ऐतिहासिक भूमिसुधार कार्यक्रम अघि बढाएका थिए। तर २०१७ साल पुस १ गते राजा महेन्द्रले निर्वाचित सरकार विघटन गरेपछि बीपीसहित शीर्ष नेताहरू पक्राउ परे र लामो समय सुन्दरीजल बन्दीगृहमा राखिए।

स्वास्थ्य उपचारका लागि जेलमुक्त भएपछि उनले भारतमा करिब आठ वर्ष निर्वासन बिताए। त्यही क्रममा उनले नेपालको राजनीतिक संकट समाधानका लागि २०३३ सालमा ’राष्ट्रिय एकता तथा मेलमिलाप’ को नीति अघि सारे। ज्यानसम्बन्धी मुद्दा कायम रहेकै अवस्थामा उनी स्वदेश फर्किए, जसलाई नेपालको राजनीतिक इतिहासमा साहसिक निर्णयका रूपमा लिइन्छ। आज पनि बीपीको मेलमिलापको सिद्धान्त नेपाली राजनीतिमा सान्दर्भिक मानिन्छ।

राजनीतिसँगै बीपी नेपाली साहित्यका पनि विशिष्ट स्रष्टा थिए। ’सुम्निमा’, ’तीन घुम्ती’, ’नरेन्द्रदाइ’, ’मोदी आइन’, ’हिटलर र यहुदी’ र ’बाबु, आमा र छोरा’ जस्ता चर्चित उपन्यासमार्फत उनले नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादलाई नयाँ उचाइ दिएका थिए। उनका ’जेल जर्नल’, ’फेरि सुन्दरीजल’ र ’आत्मवृत्तान्त’ आज पनि नेपाली राजनीतिक र साहित्यिक इतिहासका महत्वपूर्ण कृति मानिन्छन्।

यता, बीपीको स्मृति दिवसकै दिन नेपाली कांग्रेसभित्रको विभाजन पनि स्पष्ट देखिएको छ। गगन थापाको नेतृत्वमा रहेको संस्थापन पक्षले ’ग्रिन रन’ लगायतका कार्यक्रम आयोजना गरेको छ भने पूर्णबहादुर खड्का नेतृत्वको इतर पक्षले कमलादीस्थित प्रज्ञा भवनमा छुट्टै कार्यक्रम गरिरहेको छ।

गत विशेष महाधिवेशनपछि कांग्रेसभित्र देखिएको मतभेद अझै समाधान हुन सकेको छैन। सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिए पनि पार्टीभित्र समानान्तर गतिविधि जारी छन्। पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि छुट्टै सम्पर्क कार्यालय सञ्चालन गर्दै आफ्ना गतिविधि अघि बढाइरहेको छ।

बीपीले जीवनभर लोकतन्त्र, राष्ट्रिय एकता, सहमति र मेलमिलापको राजनीति अघि बढाए। तर, उनकै स्मृति दिवसमा कांग्रेसभित्र देखिएको विभाजनले बीपीको राजनीतिक दर्शन र वर्तमान पार्टीको अवस्थाबीचको दूरीबारे नयाँ बहस सुरु गराएको छ।