काठमाडौं।  जननायक विश्वेश्वरप्रसाद कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य, संविधानवाद र जनअधिकारको संरक्षणमा आफू सधैं अडिग रहेको बताएका छन्। विदेशमा स्वास्थ्य उपचारका क्रममा रहेका देउवाले जारी गरेको सन्देशमा बीपीले अघि सारेको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, मेलमिलाप र जनताको सर्वोच्चताको सिद्धान्त आज पनि मुलुकका लागि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन्।

देउवाले बीपीको नेतृत्वमा आफ्नो राजनीतिक यात्रा सुरु गर्न पाएको अवसरलाई जीवनकै ठूलो सौभाग्यको रूपमा स्मरण गर्दै लोकतान्त्रिक संस्कार र राजनीतिक प्रतिबद्धताले आफ्नो सम्पूर्ण राजनीतिक जीवनलाई मार्गदर्शन गरेको बताएका छन्। उनले विगत छ दशकभन्दा बढीको राजनीतिक यात्रामा जेल, राजनीतिक प्रतिबन्ध, दमन र अनेक चुनौती सामना गरे पनि लोकतन्त्र र संविधानको पक्षबाट कहिल्यै पछि नहटेको दाबी गरेका छन्। प्रजातन्त्रभन्दा ठूलो विकल्प छैन, जनताको अधिकारभन्दा ठूलो शक्ति छैन, भन्ने आफ्नो विश्वास आज पनि यथावत रहेको उनको भनाइ छ।

देउवाले पछिल्लो राजनीतिक घटनाक्रमप्रति पनि गम्भीर चासो व्यक्त गर्दै लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक अधिकारमाथिको कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेका छन्। सन्देशको अन्त्यमा उनले बीपी कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता र जनताको सर्वोच्चताको पक्षमा एकजुट भएर अघि बढ्न सम्पूर्ण नेपालीलाई आह्वान गरेका छन्।