मोरङ / स्थानिय सरकारकै जनप्रतिनिधिसँग दोहोरो नागरिकता भएको सार्वजनिक भएको छ । मोरङको सुनबर्षी नगरपालिका ८ का वडा अध्यक्ष नुरुल मियाँसँग दोहोरा नागरिकता रहेको वडा सदस्यले नै सार्वजनिक गरेपछि यो विषयको खुलासा भएको हो । वडाअध्यक्ष मियाँको साथमा नेपालसँगै भारतको पनि नागरिकता भएको वडा सदस्यहरुले सार्वजनिक गरिदिएका हुन् ।
वडाअध्यक्ष मियाँसँग ७०५४९२०३५५७० ‘क’ भीआइडी ९१२३८१११८८५३४५० नम्बरको भारत सरकारले जारी गरेको आधारकार्ड रहेको सार्वजनिक भएको हो । नेपाली नागरिकता मा भने नुरुलको जन्म २०३६ बैशाख २० गते लेखिएको छ ।नेपालबाट २०५५ असार ५ गते लिएको नागरिकतामा भने नागरिकता नम्बर ६११८ रहेको छ ।
भारत सरकारबाट उनले लिएको आधारकार्ड प्रयोग गरि वडाअध्यक्ष मिँयाले भारतको फिनो पेमेन्टस बैंकमा २०००२७६३७३२ नम्बरको आफ्नो बैंक खाता समेत सञ्चालन गरेर सन् २०१८ डिसेम्बर ५ तारिख मा एटिएम समेत लिएको प्रमाण सहित पत्रकार सम्मेलन गरेर स्थानियले दोहोरो नागरिकताको विषय सार्वजनिक गरेका हुन् ।
मिँयाले भारतीय वैंकमा खोलेको खातामा भने सम्पर्क नम्बरको स्थानमा भारतीय नै नम्वर प्रयोग गरेको देखिने स्थानियले जानकारी गराएका छन् । उनले वैकमा ९०६५६८८१९८ भारतीय नम्बरलाई सम्पर्क नम्वरका रुपमा राखेका छन् । वडाअध्यक्ष मिँयाले नेपालवाट लिएको नागरिकता वंशजकै आधारमा लिएको देखिएको छ ।
वडाअध्यक्ष मियाँले व्यवसायका लागि भारतीय वैंकमा खाता खोलेको दावी गरेका छन् । उनले ठक्कापट्टामा जोडिएका व्यक्तिले आफुलाई फसाउन खोजेको आरोप लगाएका छन् । भारतीय आधारकार्डका विषयमा भने उनले भारतको दिल्ली बसाईका क्रममा बस्नलाई सजिलो बनाउन आफुले रासनकार्ड लिएको स्विाकार गरेका छन् । उनले भने – चारवर्ष अगाडीसम्म दिल्लीमा मेरो व्यवसाय थियो, त्यो कुरा अहिले पत्रकार सम्मेलन गर्नेहरुलाई चुनावकै बखत पनि पनि थाहा थियो ।’
वडाअध्यक्ष मिँया विरुद्द स्थानीय युवा इस्तियाज आलम र वडा सदस्यहहरुले गत माघ २६ गते जिल्ला प्रशासन कार्यालय मोरङमा लिखीत उजुरी दिई छानविन गर्न माग गरेका थिए । उनी विरुद्द झुटो विवरण पेश गरी नागरिकता लिएको भन्दै उजुरीमा उनीमाथि कारवाही गर्न समेत माग गरिएको थियो ।






































