बिर्तामोड / पूर्वप्रधानमन्त्री एवं जसपाका केन्द्रिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले विगतलाई भुलेर राजनीतिक सहमतिका आधारमा चुनावी सरकार गठन गर्न राजनितिक दलसँग प्रस्ताव गरेका छन् ।
उपचारका लागि भारत गएका डा. भट्टराईले फर्किए लगत्तै आफ्नो निजी फेसबुक पेज मार्फत राष्ट्रिय सहमतिको चुनावी सरकार गठन गर्न प्रस्ताव गरेका हुन् ।
भट्टराईले सामाजिक संजालमा यस्तो लेखेका छन् – ०६५ ÷ ६६ सम्म देश राष्ट्रिय सहमतिमा अघि बढे पनि त्यसपछि दलमा आएको विग्रहले समस्या खडा गरेको र अब त्यसलाई भुलेर अघि बढ्नु नै उचित हुने छ । ‘अहिलेको समस्याको जरो ०६५÷६६ पछि भत्केको राजनीतिक सहमति हो । बाटो बिराए पुरानै ठाउँमा फर्कंनु् भनेझैं एक पटक फरगिभ एण्ड फरगटनको स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माण गरौं ।’
उपचारका नाममा भएको भारत भ्रमणलाई राजनितिक वृत्तमा शंकाले हेरिएको छ । संसद विघटनपछि मुलुकको राजनितिलाई सहि दिशामा लान डा.बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउनु पर्नेमा कतिपयले अहिले लबिङ पनि गरिरहेका छन् ।
सामाजिक संजाल मार्फत डा. भट्टराईले राष्ट्रिय सहमतिको सरकारले टीआरसीलगायत शान्ति प्रक्रियाका थाती कामसँगै सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्ने सुझाव पनि दिएका छन् । त्यसैगरी डड. भट्टराईले संवैधानिक अंगलाई निष्पक्ष बनाएर सुशासन कार्यान्वयन गर्न र भारत, चीन र अमेरिकाबीच असल सम्बन्ध निर्माण गर्नु पर्नेमा पनि जोड दिएका छन् ।






































