काठमाडौं । नेपालको राजनीतिक तरलता बढ्दै जाँदा छिमेकी मुलुकका गुप्तचर सक्रिय बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएदेखि नै भारतका गुप्तचर सक्रिय रहेका छन् ।
अदालतले गत ११ गते संसद विघटन बदर गर्दै पुनर्स्थापना गरेपछि नेपालमा नयाँ सरकार गठनको खेल सुरु भएको छ । यही मौका छोपेर भारतीय गुप्तचर तथा भारतीय जनता पार्टी (बिजेपी)को माउ संगठन आरएसएसका प्रतिनिधिहरु नेपाल आउन थालेका छन् ।
आजै पनि भारतीय संस्थापन निकट एउटा समूह नेपाल आउँदैछ । सो समूहमा भारतीय जनता पार्टी (विजेपी) लाई मार्गदर्शन गर्ने हिन्दू स्वयंसेवा दल (आरएसएस) का नेतासम्म रहेको स्रोतले बताएको छ ।
यो समूह आउनुअघि पछिल्लो घटनाक्रमलाई नजिकबाट नियाल्न भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसीस विङ्स ‘रअ’का प्रतिनिधिहरु पनि नेपालमै रहेका छन् । उनीहरुले नेकपाका दुबै समूह र कांग्रेस तथा जसपाका नेताहरुसँग पनि भेट गरेको स्रोतले बताएको छ ।
आज आउँदै गरेको टोलीले पनि प्रमुख राजनीतिक दलका नेताहरुलाई भेट्ने तयारी गरेको छ । नेपालस्थित भारतीय दूतावाससम्मलाई अविश्वास गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहका विश्वासपात्रहरु सम्मिलित टोलीले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिनुका साथै नेपालमा अब भारतको रणनीति कस्तो हुनुपर्ने भन्नेबारे पनि प्रतिवेदन तयार पार्नेछ ।
प्रतिनिधिसभा विघटन गर्नुअघि ‘रअ’का प्रमुख सामन्त गोयलले वालुवाटार पुगेरै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । त्यसको परिणाम नेपाली राजनीतिमा देखिएकै छ ।
नेपालको संविधान जारी गर्ने बेलामा पनि भारतले आफ्नो बर्चश्व कायम राख्न तत्कालिन विदेश सचिव हालका विदेश मन्त्री एस जयशंकरलाई नेपाल पठाएको थियो । त्यसयता भारतको पकडबाट नेपाल फुत्किन लागेको निष्कर्ष निकालेको भारतले यसपटक आफ्नो अनुकुलको सरकार बनाउन तयारी थालेको बुझिएको छ ।
पछिल्लो पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक ठाउँमा ल्याउने भारतीय पक्षको ‘एक्सरसाइज’ सुरु भएको स्रोतले बताएको छ ।