बुटवल । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि रूपन्देहीका तीन स्थानीय तहले १ करोड २६ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।
बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेका हुन् । विपद्को पीडामा स्थानीय तहहरूले आफ्नो स्रोतबाट सहयोग जुटाउँदै संघीय सरकारको राहत अभियानमा साथ दिएका हुन् ।
सबैभन्दा बढी बुटवल उपमहानगरपालिकाले ५१ लाख रुपैयाँ दिने भएको छ । आकस्मिक कार्यपालिका बैठकले ५१ लाख रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेको नगरप्रमुख खेलराज पाण्डेले जानकारी दिए । जनप्रतिनिधि र कर्मचारीका तर्फबाट पनि थप रकम सहयोग गरिने भएको छ ।
बुटवलले आफ्नो क्षेत्रमा कुनै नागरिक बाढीबाट प्रभावित भएको जानकारी आए उद्धारका लागि थप ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको छ । त्यस्तै, देश शोकमा रहेका बेला भदौ २२ गतेसम्म मनोरञ्जनात्मक कार्यक्रम नगर्न नगरवासी, राजनीतिक दल, संघसंस्था तथा सरोकारवालालाई आग्रह गरिएको छ ।
तिलोत्तमा नगरपालिकाले ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट २५ लाख रुपैयाँ र जनप्रतिनिधि तथा कर्मचारीको तीन दिनको सेवा(सुविधा तथा पारिश्रमिकबाट बाँकी रकम जुटाइने भएको छ ।
सिद्धार्थनगर नगरपालिकाले ३५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट २५ लाख रुपैयाँ, नगरप्रमुख र उपप्रमुखको एकरएक महिनाको तलब तथा जनप्रतिनिधि र कर्मचारीको सेवा(सुविधाबाट बाँकी रकम जुटाउने निर्णय भएको नगरप्रमुख इस्तियाक अहमद खाँले बताए ।
स्थानीय तहबाहेक भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघले पनि राहत कोषमा ११ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
रूपन्देहीका स्थानीय तह र निजी क्षेत्रबाट भएको सहयोगले विपद्का बेला राहत तथा उद्धारका लागि स्थानीय स्रोत परिचालनको अभ्यासलाई समेत देखाएको छ । पालिकाहरूले आफ्नो विपद् कोषसँगै जनप्रतिनिधि र कर्मचारीको पारिश्रमिकसमेत राहतका लागि छुट्याएका छन् ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्निर्माणका लागि देशभरबाट सहयोग जुटिरहेका बेला रूपन्देहीबाट पनि उल्लेख्य आर्थिक साथ पुगेको हो ।





































