लहान / लहान नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको लहान नगरपालिका कार्यपालिकाको बैठकले भदौ १० गते बुधबार रसुवाको ट्युमरे, रसुवागढीलगायत क्षेत्रमा आएको आकस्मिक तथा विनाशकारी बाढीबाट भएको अकल्पनीय मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषमा ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको र प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ । नगर कार्यपालिकाले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु स्थानीय सरकारको सामाजिक दायित्वसमेत भएकाले प्रधानमन्त्री राहत कोषमार्फत राहत तथा उद्धार कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।