काठमाडौं / रसुवाको भोटेकोशीबाट बुधबार बिहान आएको भीषण बाढीले रसुवादेखि नुवाकोट, धादिङ र चितवनसम्मका पूर्वाधारमा करिब दुई खर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक जानकारी सरकारले पाएको छ।
भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार बाढीले सडक र पुलसँगै जलविद्युत् आयोजना, भन्सार तथा अन्य संरचनामा ठूलो क्षति पुर्याएको छ। क्षतिको विस्तृत विवरण भने अझै संकलन भइरहेको छ। प्रारम्भिक विवरणअनुसार रसुवामा मात्रै १२ जलविद्युत् आयोजना प्रभावित भएका छन् भने रसुवा भन्सारको संरचनामा समेत ठूलो क्षति पुगेको छ। बाढीले बैंकका शाखा र पक्की पुलमा समेत क्षति पुर्याएको विवरण सार्वजनिक भएको छ।
उता त्रिशूली नदीमा रहेका कम्तीमा १९ पुलमा क्षति पुगेको र करिब ४० किलोमिटर सडक प्रभावित भएको सडक विभागले जनाएको छ। मन्त्री लम्सालले क्षतिग्रस्त सडक र पुललाई प्राथमिकताका साथ पुनर्निर्माण गर्ने बताएका छन्। तर अहिले सरकारसामु चुनौती क्षतिको अनुमानभन्दा पनि वास्तविक विवरण संकलन गर्नु र यातायात तथा आवश्यक पूर्वाधार तत्काल सञ्चालनमा ल्याउनु बनेको छ।
बाढीको पानी घट्दै जाँदा क्षतिको वास्तविक हिसाब बाहिर आउनेछ—तर प्रारम्भिक दुई खर्बको आँकडाले भोटेकोशीको भेलले पूर्वाधारमा गरेको विनाशको आकार भने देखाइसकेको छ।






































