पोखरा । गण्डकी प्रदेश सभाका लागि २५ करोडभन्दा बढी लागतमा निर्माण भइरहेको नयाँ भवनको काम धमाधम अघि बढिरहेको छ। पोखरा महानगरपालिका–३, नदीपुरमा ७ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको भवनमा अहिले मुख्य संरचनाको काम भइरहेको छ।

भवन निर्माणका लागि सहरी विकास तथा भवन कार्यालय कास्की र श्रेष्ठ एन्ड सन्स–इस्ट वेस्ट जेभीबीच भ्याटसहित २५ करोड ३७ लाख ८२ हजार ८ सय ६० रुपैयाँमा सम्झौता भएको हो। सम्झौताअनुसार भवन २०८४ माघ १७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ।

तर रोचक पक्ष के छ भने नयाँ भवन तयार हुँदा अहिलेका प्रदेश सांसदहरूको कार्यकाल सकिइसकेको हुनेछ। हालका सांसदहरूको कार्यकाल २०८४ मंसिरमा सकिने भएकाले निर्माण सम्पन्न भएपछि तेस्रो कार्यकालका सांसदले मात्रै नयाँ भवन प्रयोग गर्ने अवस्था देखिएको छ।

तीन तलाको भवनमा पाँचवटा संसदीय दलका बैठक कक्ष तथा पाँचवटा भीआईपी कार्यालय रहनेछन्। पहिलो तलामा प्रदेश सभा बैठक कक्षसँगै लाइब्रेरी, भिडियो कन्फरेन्स कक्ष, मार्सल कार्यालय र टीभी स्टुडियो रहनेछ।

दोस्रो तलामा ८० जना क्षमताको दर्शकदीर्घा, बहुउद्देश्यीय बैठक कक्ष, स्टोर तथा बार्दली निर्माण गरिनेछ। भवनमा दुईवटा लिफ्ट, चमेनागृह र पार्किङको समेत व्यवस्था हुनेछ।

गण्डकी प्रदेश सभा यसअघि प्रयोग गर्दै आएको भवन आन्दोलनका क्रममा क्षतिग्रस्त भएपछि लामो समय कृषि मन्त्रालयको सभाहलबाट बैठक सञ्चालन गर्दै आएको थियो। अहिले करिब ५७ लाख रुपैयाँ खर्च गरेर पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा अस्थायी सभाहल तयार गरिएको छ।

दीर्घकालीन समाधानका रूपमा निर्माण भइरहेको नयाँ भवनका लागि चालु आर्थिक वर्षमा ९ करोड रुपैयाँ विनियोजन गरिएको छ। निर्माण सम्पन्न भएपछि भने गण्डकी प्रदेश सभाले आफ्नै सुविधासम्पन्न भवन पाउनेछ।