हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। त्यसका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ।

एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाको समर्थनमा भदौ ४ गते मुख्यमन्त्री बनेका थापाका लागि विश्वासको मत लिनु चुनौतीपूर्ण बनेको छ। विशेषगरी राप्रपाभित्र सरकारलाई दिएको समर्थनलाई लिएर विवाद भएपछि उनको बहुमतको अंकगणित कमजोर देखिएको हो।

बागमती प्रदेशसभामा हाल १०४ सदस्य कायम छन्। विश्वासको मतका लागि कम्तीमा ५३ मत आवश्यक पर्छ। एमालेका २५ र नेकपाका २६ सांसद जोड्दा थापाको पक्षमा ५१ मत मात्रै पुग्छ। त्यसैले थप समर्थन जुटाउनुपर्ने अवस्था छ।

त्यसमाथि नेपाली कांग्रेसले आफ्ना ३६ सांसदलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ। राप्रपाले पनि आफ्ना सांसदलाई विपक्षमा मतदान गर्न निर्देशन दिएको छ।

राप्रपाका १२ सांसद आजको मतदानमा कसरी प्रस्तुत हुन्छन् भन्ने विषय निर्णायक बन्ने देखिएको छ। उनीहरूले पार्टीको ह्विप पालना गरे मुख्यमन्त्री थापालाई बहुमत जुटाउन कठिन हुनेछ।

यससँगै बागमती प्रदेश सरकार गठन भएको केही दिनमै विश्वासको मतको परीक्षामा पुगेको छ। आजको मतदानले थापा नेतृत्वको सरकार टिक्ने वा नयाँ राजनीतिक समीकरणको बाटो खुल्ने भन्ने टुंगो लगाउनेछ।