काठमाडौं । लगातारको वर्षाका कारण आज देशका विभिन्न क्षेत्रमा आकस्मिक बाढीको जोखिम देखिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी ११ जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव अचानक बढ्न सक्ने सम्भावना छ।

सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी र बागलुङमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

यी जिल्लाका खोला तथा नदीमा बहाव बढ्दा तटीय क्षेत्र, नदी किनारका बस्ती, सडक तथा पुलहरू प्रभावित हुन सक्ने भएकाले सतर्कता आवश्यक देखिएको छ।

यसैबीच दूधकोसी, नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीलगायत ठूला नदीमा समेत पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ।

कहाँ बढी सतर्क हुने ?

विशेषगरी खोला किनार, नदी आसपासका बस्ती तथा जोखिमयुक्त भूभागमा बसोबास गर्नेले वर्षाको अवस्था र स्थानीय सूचना निरन्तर हेर्नुपर्ने देखिएको छ। पानी परिरहेको समयमा खोला तथा नदीको बहाव हेर्न जाने वा जोखिमपूर्ण स्थानबाट यात्रा गर्ने काम नगर्न पनि सावधानी अपनाउनुपर्ने हुन्छ।वर्षा जारी, नदीमा बहाव बढ्दै-११ जिल्लामा आज आकस्मिक बाढीको जोखिम।