काठमाडौं / एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै लगानीकर्ताको गोपनीयता र व्यावसायिक सूचनाको सुरक्षामाथि प्रश्न उठाएको छ।
कम्पनीले बिहीबार विज्ञप्ति जारी गर्दै सरकारले ‘एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सार्वजनिक गरेपछि लगानीकर्ताको संवेदनशील व्यावसायिक सूचना संरक्षणसम्बन्धी विषय उठेको जनाएको हो।एनसेलका अनुसार छानबिनका क्रममा संकलन गरिएका लगानी, कारोबार, सम्पत्ति, पत्राचार तथा अन्य व्यावसायिक विवरण कानुनले संरक्षण गरेका सूचना हुन्।
यस्ता विवरण अनुसन्धान वा कानुनी प्रक्रियाका लागि प्रयोग गर्न सकिने भए पनि सार्वजनिक पहुँचमा ल्याउन नमिल्ने कम्पनीको दाबी छ। कम्पनीले नेपालको संविधानको धारा २८ ले प्रत्याभूत गरेको गोपनीयताको हक, वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ तथा करसम्बन्धी कानुनले सुनिश्चित गरेका गोपनीयतासम्बन्धी व्यवस्थाको समेत स्मरण गराएको छ। एनसेलले प्रतिवेदन सार्वजनिक गर्ने निर्णयले नेपालमा विदेशी लगानीकर्ताको विश्वासमा असर पर्न सक्ने चेतावनी दिएको छ।
लगानीकर्ताले कुनै मुलुकमा लगानी गर्दा कानुनी सुरक्षा, व्यावसायिक स्वतन्त्रता र सूचनाको गोपनीयतालाई महत्वपूर्ण आधारका रूपमा हेर्ने भएकाले पछिल्लो घटनाले नेपालको लगानी वातावरणबारे नकारात्मक सन्देश जान सक्ने कम्पनीको भनाइ छ।कम्पनीले प्रतिवेदन सार्वजनिक भएको विषयमा आफूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र सन्धि–सम्झौताअनुसार उपलब्ध कानुनी उपचारको अधिकार सुरक्षित राखेको जनाएको छ।
एनसेलले सरकारको निर्णय एउटा कम्पनीसँग मात्र सम्बन्धित विषय नभई नेपालमा विदेशी लगानीको सुरक्षा र विश्वाससँग जोडिएको विषय भएको दाबी गरेको छ। नयाँ विदेशी लगानी आकर्षित गर्न तथा विद्यमान लगानीकर्ताको विश्वास कायम राख्न व्यावसायिक गोपनीयताको संरक्षण आवश्यक रहेको कम्पनीले जनाएको छ।





































