काठमाडौं । सुनसरीमा उत्पन्न तनाव र त्यसपछि विकसित राष्ट्रिय परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा सहभागी प्रमुख राजनीतिक दलका नेताहरूले सरकारको भूमिकामाथि कडा प्रश्न उठाएका छन्। बैठकले सामाजिक सद्भाव कायम राख्न सबै दलको तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गर्दै हिंसाको सट्टा संवाद र सहमतिमार्फत समाधान खोज्नुपर्ने निष्कर्ष निकालेको छ।
बैठकमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद सुरु गर्नुपर्ने धारणा राखे। उनले बल प्रयोगले समस्या समाधान नहुने भन्दै संवाद, सहमति र राजनीतिक समझदारीबाट मात्र संकट समाधान सम्भव हुने बताए। निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा बाहिरी रूपमा वातावरण भड्काउन खोज्ने तत्वप्रति उच्च सतर्कता अपनाउनुपर्ने उनको भनाइ थियो। साथै संकटका बेला राष्ट्रिय एकताको अभ्यास पुनः दोहोर्याउनुपर्नेमा उनले जोड दिए।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा ले सरकारको उपस्थिति र नेतृत्वमाथि प्रश्न उठाउँदै यतिखेर सरकार के गर्दैछ, कहाँ छ? भन्ने प्रश्न सार्वजनिक रूपमा गरे। उनले सरकार केवल सुरक्षा कारबाही वा सामाजिक सञ्जालका सन्देशमा सीमित हुन नहुने उल्लेख गर्दै प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक, राष्ट्रपतिसँग परामर्श तथा प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्नुपर्ने बताए। सुनसरीलगायत प्रभावित जिल्लामा स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर सद्भाव कायम राख्नुपर्ने सुझाव पनि उनले दिए।
यस्तै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले सुनसरीलगायतका क्षेत्रमा शान्ति कायम गर्न सबै दलले संयुक्त अपिल गर्ने सहमति भएको जानकारी दिए। उनले यस्तो संवेदनशील अवस्थामा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिले अन्योल बढाएको उल्लेख गर्दै सरकारले अझ जिम्मेवार ढंगले भूमिका निर्वाह गर्नुपर्ने बताए।
नेकपा एमालेका महासचिव शंकर पोखरेल ले बैठकमा सुनसरीको तनावलाई सामान्य बनाउने उपायबारे गम्भीर छलफल भएको जानकारी दिँदै भीड नियन्त्रणमा सरकार किन प्रभावकारी हुन सकेन भन्ने विषयमा सबै दलले चासो व्यक्त गरेको बताए।
बैठकमा सहभागी नेताहरूले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई जोगाउन सबै राजनीतिक दलले आ–आफ्नो कार्यकर्ता तथा जनप्रतिनिधिलाई संयम अपनाउन निर्देशन दिइरहेको जानकारी दिएका थिए। विगतका भूकम्प, बाढी–पहिरो, कोभिड महामारी तथा संविधान निर्माणका बेला देखिएको राजनीतिक सहकार्यलाई अहिलेको संकटमा पनि निरन्तरता दिनुपर्नेमा उनीहरू सहमत देखिए।
सर्वदलीय बैठकको निष्कर्षअनुसार सबै दलले संयुक्त रूपमा शान्ति, संयम र सामाजिक सद्भाव कायम राख्न नागरिकलाई अपिल गर्ने, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्ने तथा सरकारले प्रभावकारी राजनीतिक नेतृत्व र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने साझा धारणा सार्वजनिक गर्ने निर्णय गरेका छन्।






































