काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन तयार पार्न महासचिव शंकर पोखरेल केही दिनका लागि नियमित पार्टी गतिविधिबाट अलग भएका छन्। उनी अहिले प्रतिवेदन लेखनमै केन्द्रित रहेको एमालेले जनाएको छ।
प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार पोखरेल तीन–चार दिन पार्टी कार्यालय नआउने गरी प्रतिवेदन तयार पार्ने काममा व्यस्त छन्। प्रतिवेदन लेख्ने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव पोखरेललाई दिइएको थियो।
पार्टीका विभिन्न तहमा भएको निर्वाचन समीक्षा, पुनर्गठनसम्बन्धी छलफल र सुझावलाई समेटेर प्रतिवेदन तयार पारिने एमाले स्रोतले जनाएको छ। प्रतिवेदन तयार भएपछि कार्यदलबाट पारित गरी केन्द्रीय सचिवालय बैठकमा पेश गरिनेछ।
स्रोतका अनुसार प्रतिवेदनको विषयवस्तुलाई लिएर पार्टीभित्र विभिन्न तहबाट दबाब र चासो बढिरहेका बेला महासचिव पोखरेलले एकाग्र भएर मस्यौदा तयार गरिरहेका छन्। प्रतिवेदन आगामी तीन दिनभित्र अन्तिम रूप पाउने अपेक्षा गरिएको छ।






































