काठमाडौं । १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई पार्टी सदस्य बनाएको विषयमा उठेको विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय मानव अधिकार आयोगलाई आफ्नो आधिकारिक जवाफ पठाएको छ।
रास्वपाले आयोगलाई पठाएको स्पष्टीकरणमा १८ वर्षमुनिका ३५ हजार २५७ जना पार्टी सदस्य रहेको विवरण वास्तविक सदस्यता अभिलेख नभई प्रारम्भिक आवेदन फाराममा संकलित विवरणका आधारमा प्रतिवेदनमा परेको जनाएको छ। उक्त संख्या भूलवश सदस्यता विवरणका रूपमा समावेश भएको र त्यसलाई वास्तविक पार्टी सदस्यता मान्न नमिल्ने पार्टीको दाबी छ।
मानव अधिकार आयोगले संविधान तथा बालअधिकारसम्बन्धी कानुनविपरीत बालबालिकालाई राजनीतिक दलको सदस्य बनाइएको भन्ने सार्वजनिक जानकारीपछि गत असार १५ गते रास्वपालाई स्पष्टीकरण मागेको थियो। आयोगका प्रवक्ता डा। टिकाराम पोखरेलले पार्टीको जवाफ प्राप्त भइसकेको जानकारी दिएका छन्।
रास्वपाले आफ्नो लिखित जवाफमा नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, बालबालिकासम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई पार्टी सदस्य बनाउने कुनै नीति वा अभ्यास नरहेको स्पष्ट पारेको छ।






































