काठमाडौं । नेपाली सेयर बजारमा लगानीकर्ताको उत्साह थपिएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४१.७० अंक (१.५५ प्रतिशत) ले उकालो लाग्दै २,७१९ अंक पुगेको छ। यससँगै बजारले करिब एक महिनापछि फेरि २७ सय अंकको मनोवैज्ञानिक सीमा पार गरेको हो।

अघिल्लो कारोबार दिन पनि बजार ७९ अंकले बढेको थियो। त्यसैले लगातार दुई कारोबार दिनमै नेप्से करिब १२० अंकले उकालो लागेको छ। यो लगातार पाँचौँ दिनको वृद्धि समेत हो, जसले बजारमा सकारात्मक मनोविज्ञान बलियो बन्दै गएको संकेत गरेको छ।

कारोबार रकममा पनि सुधार देखिएको छ। शुक्रबार ४ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको बजारमा सोमबार ५ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। कारोबारमा सहभागी अधिकांश कम्पनीको मूल्य बढ्दा बजारको व्यापक सुधार देखिएको छ। सोमबार २३९ कम्पनीको सेयर मूल्य बढेको, ३२ कम्पनीको घटेको र ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

समूहगत प्रदर्शनमा उत्पादन तथा प्रशोधन क्षेत्र सबैभन्दा अगाडि रह्यो, जसको सूचक ३.२१ प्रतिशतले बढ्यो। त्यसपछि अन्य, जलविद्युत्, होटल तथा पर्यटन, लगानी, विकास बैंक लगायतका अधिकांश उपसूचक पनि हरियालीमा रहे।

नयाँ सूचीकृत कम्पनी एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढेर आकर्षणको केन्द्र बन्यो। त्यस्तै रिजलाइन इनर्जी, श्रीनगर एग्रिटेक, सोलु हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट र शिखर पावरले पनि उल्लेखनीय वृद्धि दर्ज गरे।

यद्यपि सबै कम्पनीमा भने उस्तै अवस्था रहेन। आत्मनिर्भर लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सबैभन्दा बढी गिरावट देखियो।

रकमका आधारमा आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, नेसनल हाइड्रोपावर, एसवाई प्यानल, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालय रिइन्स्योरेन्समा सबैभन्दा बढी कारोबार भएको छ।

लगातार पाँच दिनको हरियाली र कारोबार रकममा आएको वृद्धिले बजारमा लगानीकर्ताको विश्वास पुनः बढ्न थालेको संकेत दिएको विश्लेषण गरिएको छ।