काठमाडौं । नयाँ आर्थिक वर्षको सुरुवातसँगै बचतकर्ताका लागि निराशाजनक खबर आएको छ। साउन महिनादेखि ६ वटा वाणिज्य बैंकले निक्षेपमा दिने ब्याजदर थप घटाएका छन्, जसका कारण मुद्दती खातामा बचत गर्ने सर्वसाधारणले अब झन् कम प्रतिफल पाउने भएका छन्। २० वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा औसत अधिकतम ब्याज ४.२६ प्रतिशतबाट घटेर ४.१९ प्रतिशतमा झरेको छ।
यसपटक राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई, एनएमबि, सिटिजन्स, स्ट्यान्डर्ड चार्टर्ड र कुमारी बैंकले ब्याजदर घटाएका छन्। सबैभन्दा ठूलो कटौती राष्ट्रिय वाणिज्य बैंकले गरेको छ भने ग्लोबल आइएमई पनि उल्लेख्य रूपमा ब्याज घटाउने बैंकमध्ये परेको छ।
यद्यपि नबिल बैंक र प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.५५ प्रतिशत ब्याज दिइरहेका छन्। उता कुमारी र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा भने सबैभन्दा कम ३.९५ प्रतिशत ब्याजदर कायम गरिएको छ।
बैंकहरूले ब्याजदर घटाउनुको मुख्य कारण कर्जा प्रवाह सुस्त हुनु र बैंकिङ प्रणालीमा ठूलो परिमाणमा लगानीयोग्य रकम तरलता थुप्रिनु रहेको बताइएको छ। हाल बैंकहरूसँग १३ खर्ब रुपैयाँभन्दा बढी कर्जा दिन मिल्ने रकम भए पनि अपेक्षाअनुसार ऋणको माग बढ्न सकेको छैन।
बैंक तथा वित्तीय संस्थाहरूले अहिले ८२ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ५९ खर्ब ३५ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ। लगातार बढिरहेको रेमिट्यान्सले निक्षेप थपिँदै जाँदा बैंकहरू ब्याजदर झन् घटाउने दबाबमा परिरहेका छन्।






































