काठमाडौं / चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१ दशमलव ६२ प्रतिशत सम्पन्न भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल १३ लाख ६६ हजार ५६२ हेक्टर रोपाइँयोग्य क्षेत्रफलमध्ये ८ लाख ४२ हजार ६८ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको हो । प्रदेशगत विवरणअनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ८७ दशमलव ८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । त्यसपछि गण्डकीमा ६५ दशमलव ९ प्रतिशत, कर्णालीमा ६ दशमलव २ प्रतिशत, लुम्बिनीमा ५९ दशमलव ६ प्रतिशत, मधेशमा ५७ दशमलव ९ प्रतिशत, बाग्मतीमा ५७ दशमलव १ प्रतिशत र कोशी प्रदेशमा सबैभन्दा कम ५४ दशमलव ९ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।
गत वर्षको सोही अवधिमा देशभर ७२ दशमलव १४ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । यस वर्ष भने राष्ट्रिय रूपमा रोपाइँको प्रगति गत वर्षको तुलनामा कम देखिएको छ । यद्यपि, मधेश प्रदेशमा भने गत वर्षको ४६ दशमलव ८३ प्रतिशतको तुलनामा यस वर्ष ५७ दशमलव ९ प्रतिशत रोपाइँ सम्पन्न भई सुधार देखिएको छ ।
मन्त्रालयका अनुसार मनसुनको अवस्था, वर्षाको वितरण तथा स्थानीय मौसमीय परिस्थितिका आधारमा विभिन्न प्रदेशमा रोपाइँको प्रगति फरक–फरक रहेको छ ।






































