काठमाडौं— उपभोक्ताले आज (बुधबार) देखि खाना पकाउने भरी सिलिन्डर ग्यास किन्न पाउने भएका छन्। नेपाल आयल निगम लिमिटेडले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबारदेखि साबिककै १४.२ केजी ग्यास भरेर बजारमा पठाउने जनाएको हो।
इरान–अमेरिकारइजरायल युद्ध चर्किंदै जाँदा विश्वभर पेट्रोलियम पदार्थको संकट उत्पन्न भएपछि सरकारले २९ फागुनदेखि आधा सिलिन्डर ग्यास (७.१ केजी) बिक्री गर्ने निर्णय गरेको थियो। युद्धको अनिश्चितताका कारण उपभोक्ताहरूले अस्वाभाविक रूपमा ग्यास भण्डारण गर्न थालेपछि निगमले सबैलाई ग्यास पुर्याउने उद्देश्यले आधा सिलिन्डर ग्यास बिक्री वितरणको नीति लिएको थियो।
निगमको यो नीतिले उपभोक्ताको माग सम्बोधन गर्न त्यसबेला काम गरे पनि अहिले भारतबाट नियमित ग्यास आउन थाल्दासमेत आधा सिलिन्डर नीति यथावत् रहनु गलत भन्दै भरी सिलिन्डर ग्यासको माग गरिरहेका थिए। वितरण हुन सक्ने भएकाले सोहीअनुसार तौल र मूल्य यकिन गरेर मात्र खरिद गर्न निगमले उपभोक्तालाई आग्रह गरेको छ।
इण्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट भएको लोडिङको अवस्थामा सुधार तथा आम उपभोक्ताबाट भरी सिलिण्डरको मागको अवस्थालाई ध्यान दिइएको निगमको भनाइ छ। बुधबारदेखि मुलुकभरी नै साविककै १४.२ केजी ग्यास भर्ने र पूरा मूल्य २ हजार ६० रुपैयाँमा बिक्री वितरण गर्ने निगमले जनाएको छ।
आधा सिलिण्डर ग्यास बजारमा पठाउँदा निगम, उपभोक्ता, डिलर र उद्योगी सबैले मार परेको बताउँदै आएका थिए। ग्यास उद्योगीहरूले आधा सिलिण्डर ग्यास भर्नुपर्दा एउटै काम दुई पटक गर्नु परिरहेको, सिल र क्यापमा अतिरिक्त खर्च भइरहेको गुनासो गर्दै आएका थिए।
साथै, आधा सिलिण्डर मात्रै ग्यास भरेर बजार पठाउनु पर्दा भारतबाट ग्यास बोकेर आएका बुलेटहरूले खनाउन नपाउँदा हप्तौंसम्म कुर्नु पर्ने अवस्था थियो। यसरी बुलेटले कुरेर बसेको समयको भाडा समेत उद्योगीले तिर्नु परिरहेको बताएका थिए। निगमका अनुसार नेपालमा दैनिक एक लाखभन्दा बढी सिलिण्डर ग्यास खपत हुने गरेको छ।






































