काठमाडौं । अघिल्लो कारोबार दिन ३० अंकभन्दा बढीले घटेको सेयर बजार मंगलबार सामान्य सुधारसहित हरियो बनेको छ। नेप्से परिसूचक ६.११ अंकले बढेर २,५७६.०६ बिन्दुमा पुगेको छ भने कारोबार रकम ८ अर्ब ४१ करोड रुपैयाँ नाघ्दै करिब तीन महिनायताकै उच्च स्तरमा पुगेको छ।
कारोबारका क्रममा १६४ कम्पनीको सेयर मूल्य बढेको, १०१ कम्पनीको घटेको र १० कम्पनीको मूल्य स्थिर रहेको छ। उत्पादन तथा प्रशोधन समूहबाहेक अधिकांश उपसूचक सकारात्मक देखिएका छन्। व्यापार समूहमा सबैभन्दा बढी १.४७ प्रतिशतको वृद्धि हुँदा बैंकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटनलगायत क्षेत्र पनि हरियालीमा बन्द भएका छन्।
उपकार लघुवित्त र भगवती हाइड्रोपावरका लगानीकर्ताले उल्लेखनीय लाभ कमाउँदा सामुदायिक लघुवित्त, स्वाबलम्बन लघुवित्त र सुपर खुदी हाइड्रोपावरका सेयरमा भने गिरावट देखियो। कारोबारतर्फ कुमारी बैंक, एनआईएमबी, नेपाल एसबीआई, एभरेस्ट बैंक तथा कृषि विकास बैंकका डिबेन्चरहरू सबैभन्दा बढी कारोबार हुने साधन बने। बजारमा सुधारसँगै लगानीकर्ताको सक्रियता पनि बढेको संकेत देखिएको छ।






































