काठमाडौं। नेपालमा महँगीको दर एक वर्षमै झन्डै दोब्बर पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार जेठ महिनाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ, जबकि गत वर्ष सोही अवधिमा यो २.७२ प्रतिशत मात्रै थियो।
यसपटक खाद्यान्नभन्दा गैरखाद्य वस्तु र सेवाको मूल्य बढी बढेको देखिएको छ। यातायात, विविध सेवा, फलफूल, घिउ–तेल, शिक्षा, कपडा तथा जुत्ताचप्पलको मूल्यमा उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।
प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ५.७५ प्रतिशत र सुदूरपश्चिममा सबैभन्दा कम ४.६१ प्रतिशत मुद्रास्फीति देखिएको छ। ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा महँगीको प्रभाव बढी परेको तथ्यांकले देखाएको छ।
यस्तै, थोक मुद्रास्फीति पनि ८.४७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो। राष्ट्र बैंकका अनुसार हाल नेपालको मुद्रास्फीति भारतको ३.९३ प्रतिशतभन्दा पनि उच्च रहेको छ, जसले उपभोक्तामाथि महँगीको थप दबाब बढाएको संकेत गरेको छ।






































