काठमाडौं। नेपालको विदेशी मुद्रा सञ्चिति इतिहासकै उच्च स्तरमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ३७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ, जुन गत वर्षको असार मसान्तको तुलनामा ४०।३ प्रतिशतले बढी हो।

गत वर्ष विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब रुपैयाँ रहेकोमा ११ महिनामै उल्लेखनीय वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ। अमेरिकी डलरमा पनि सञ्चिति २६।५ प्रतिशत बढेर करिब २४ अर्ब ६८ करोड डलर पुगेको छ।

कुल सञ्चितिमध्ये ३३ खर्ब ३० अर्ब रुपैयाँ नेपाल राष्ट्र बैंकसँग र ४ खर्ब २५ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थासँग रहेको छ। विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१।५ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

राष्ट्र बैंकका अनुसार हाल कायम रहेको सञ्चितिले २२।५ महिनासम्मको वस्तु आयात तथा १९।१ महिनासम्मको वस्तु र सेवा आयात धान्न सक्ने क्षमता राख्छ। यसलाई नेपालको बाह्य क्षेत्र मजबुत बन्दै गएको संकेतका रूपमा हेरिएको छ।