काठमाडौं। घर वा घडेरी किन्ने योजना बनाएका सामाजिक सुरक्षा कोषका योगदानकर्ताले अब अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म ऋण लिन सक्ने भएका छन्। कोषले सहुलियत ब्याजदरमा जग्गा, घर, अपार्टमेन्ट खरिद, घर निर्माण, तला थप्ने तथा मर्मतका लागि कर्जा उपलब्ध गराउँदै आएको जनाएको छ।

घडेरी खरिदका लागि वार्षिक ६ प्रतिशत र घर कर्जाका लागि ५.८५ प्रतिशत ब्याजदर कायम गरिएको छ। तर, सबै योगदानकर्ताले अधिकतम रकम पाउने भने होइन। ऋणको सीमा तलब, धितोको मूल्यांकन र ऋण तिर्न सक्ने क्षमताका आधारमा निर्धारण हुनेछ।

यो सुविधा लिन कम्तीमा १८ महिना नियमित योगदान गरेको, कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको तथा अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी हुनुपर्ने सर्त छ। योगदानकर्ताले १५ वर्षको तलब बराबर वा ६० वर्ष उमेर पुग्न बाँकी अवधिको तलबमध्ये जुन कम हुन्छ, त्यही सीमाभित्र ऋण लिन सक्नेछन्।

ऋण लिन घर वा जग्गा धितो अनिवार्य राख्नुपर्छ। धितो योगदानकर्ता वा एकाघर परिवारको नाममा हुनुपर्नेछ। गुठी, मोहीयानी हक लागेको, अदालतमा विवादित, नक्सापास नभएको, २० वर्षभन्दा पुरानो नक्सापास भएको, हकदाबी अवधि नसकिएको, हाइटेन्सन लाइनमुनि वा मापदण्ड नपुगेको खोला किनारको घरजग्गा भने धितोका रूपमा स्वीकार गरिने छैन।

घर निर्माण कर्जाका लागि भवन कम्तीमा डिपिसी लेभलसम्म बनेको हुनुपर्नेछ। साथै, निर्माणका लागि १० फिट र जग्गा खरिदका लागि १३ फिट चौडा सडक पुगेको हुनुपर्ने मापदण्ड छ। महानगर, उपमहानगर र नगरपालिकामा २।५ आनाभन्दा कम तथा गाउँपालिकामा ४ आनाभन्दा कम जग्गाका लागि ऋण उपलब्ध नहुने व्यवस्था गरिएको छ।

कोषका अनुसार सहुलियत ब्याजदर, लामो भुक्तानी अवधि र सरल प्रक्रियाका कारण घर तथा जग्गा खरिद कर्जाप्रति योगदानकर्ताको आकर्षण बढ्दै गएको छ।